काठमाडौं, १२ असोज। तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंकका अध्यक्ष सीताराम प्रसाईंसहित पाँच जना भ्रष्टाचारी ठहर भएका छन् । हाल यति विकास बैंकका अध्यक्ष रहेका प्रसाईसहित पाँच जनालाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय चण्डीराज ढकाल तथा प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीहरुले कर्जा अपचलन गरेको भन्दै दोषी ठहर गरेको हो। अध्यक्ष प्रसाईलाई ३५ लाख जरिवाना र १ वर्ष कैद हुने ठहर गरेको छ। कर्जा अपचलनमा संलग्न रहेको भनी १० महिना र अध्यक्षको रुपमा जिम्मेवारी निर्वाह नगरेकोमा थप २ महिना गरी एक वर्ष कैदको फैसला सुनाएको छ ।
त्यसैगरी उक्त प्रकरणमा संलग्न हिम गुरुङलाई ३५ लाख जरिवानासहित ६ महिना कैद, सुनील प्रधानलाई १ वर्ष कैद, पदमप्रसाद खतिवडालाई ६ महिना कैद सहित १० हजार जरिवाना र कर्जा लिने केशवलाल खुशीलाई ७० लाख बिगो भराई थप ७० लाख जरिवाना गरी कुल १ करोड ४० हजार असुल गर्ने फैसला गरेको छ । अदालतको फैसलामा ७० लाख बिगो बैंकलाई खुशीले फिर्ता गर्नुपर्ने र सोही बराबर जरिवाना दाखिला गर्नुपर्ने उल्लेख छ ।











