इन्द्रेणी संवाददाता
तुलसीपुर १८ असार । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट बच्चा चोरी भएको छ । दाङ, तुलसीपुर ९ निवासी ५ वर्षीय बालक सिर्जन ओली शनिबार दिउँसो अस्पतालभित्रबाट अचानक गायव भएका थिए। बच्चा चोरी भएको हल्ला मच्चिएपछि चारैतिर खोजी गर्दा एक घण्टापछि प्रहरीले कोहलपुरस्थित चौराहामा सिर्जनलाई फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बच्चा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले बाँके, महादेवपुरी ४ निवासी अमर खड्कालाई नियन्त्रणमा लिएको छ । अभियुक्तले मदिरा सेवन गरेकाले नियन्त्रणमा लिएर हिरासतमा राखिएको इप्रका कोहलपुरका इन्चार्ज ( डिएसपी ) सुरेशप्रसाद काफ्लेले बताएका छन् । ‘कुन नियतबाट उसले बच्चा लगेको हो, त्यो कुरा अनुसन्धानबाट खुल्नेछ,’ उनले भने ‘अभियुक्तले आज मदिरा सेवन गरेकाले अहिले सोधपुछ गरेका छैनौं।’ बालक सिर्जनकी आमा शिक्षण अस्पतालमा सुत्केरी छिन् ।
आरोपी खड्का आफ्ना बिरामी भाईलाई खाना पुर्याउन बिहान–बेलुका अस्पताल जाने गरेका थिए । सो क्रममा बालक सिर्जनलाई उनले चकलेट दिएर खेलाउने गरेका थिए बअ। खड्काले अस्पतालबाट बालकलाई इलेक्ट्रिक रिक्सामा राखेर चौराहासम्म पुर्याएको प्रहरीले जनाएको छ । बच्चा चोरी भएको हल्लापछि प्रहरीले दिउँसो ठाउँ ठाउँमा चेकजाँच कार्य गरेको थियो ।

Comments are closed.