इन्द्रेणी संवाददाता
दाङ, १ असोज । मानसिक सन्तुलन गुमाएकाहरुको आवास निर्माणका लागि दाङको घोराहीमा महायज्ञ सञ्चालन भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रको मैदानमा आज सोमवारदेखि शुरु भएको श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
महायज्ञको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले गरे । उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले यो महायज्ञले आफ्नो उद्देश्य प्राप्ती गर्ने त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।
सिद्धि विनायक सत्यास सेवा समिति नेपाद दाङको आयोजनामा सञ्चालन भएको महायज्ञ असोज ९ गतेसम्म चल्ने छ । उद्घाटन समारोहमा प्रदेश नं. ५ का सांसद अमरबहादुर डाँगी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, डा. भोलानाथ योगीलगायतले महायज्ञको सफलताको शुभकामना दिएका थिए ।
महायज्ञ उद्घाटन अघि महायज्ञ स्थलबाट शुरु भएको कलश यात्राले घोराही बजार परिक्रममा गरेको थियो । महायज्ञमा संकलन भएको दानले दाङको कुहिरेपानीमा प्रेरणाका लागि अभियान नेपालले मानसिक सन्तुलन गुमाएकाहरुका लागि निर्माणधिन आवास भवनका लागि सहयोग गर्ने आयोजकले जनाएको छ ।












