उदय बीसी
दाङ, ३१ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई युएसए अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ वस्ने वर्ष २७ को विरबहादुर चौधरीलाई भदौ ३० गते शनिवार पेस्तोलसहित हिडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई आइतवार सार्वजनिक गर्दै उनलाई घोराहीकै वुद्धिग्यारेज नजिकै हतियार बोकेर हिडिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । चौधरीलाई खानतलास गर्दा ७ दशमलव ६५ क्यालिभर पेस्तोल र त्यसमा लाग्ने एक थान म्याग्जीन र चार साउण्ड गोली समेत वरामत गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कृष्णहरि शर्माले जानकारी दिए । साथै प्रहरीले उनी चडेको रा ४ प २४६६ नम्बरको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
लाखौं रकम ठगी गर्ने पनि पक्राउ
यसैबीच जिल्ला प्रहरी कार्यालयले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट लाखौ रकम ठगी गर्ने दोलखा भिमेश्वर नगरपालिका वडा नं. १ चरिकोट घर भई काठमाडौं वस्दै आएका कालिबहादुर लामालाई पक्राउ गरेको छ ।
लामालाई सिआइवीको सहयोगमा भदौ २७ गते काठमाडोंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिहरुलाई प्रहरीमा भर्ती गराइदिने भन्दै प्रतिव्यक्तिबाट करीव २ लाख ५० हजार रुपैयाँ ठगी गर्दै आएको खुल्ना आएको छ ।
उनी निवृत्त प्रहरी समेत हुन् । साथै लामाले मेटोसिटी सेकुरेटी कम्पनी समेत चलाउदै आएको बताइएको छ । उनलाई पनि आज आइतवार प्रहरीले सार्वजनिक गरेको छ ।











