इन्द्रेणी संवाददाता
दाङ, १९ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले सात वर्ष पहिले दाङको नारायणपुरस्थित अम्रईमा हत्या गरिएका रुकुम पोखराका टेकबहादुर घर्तीका हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । घर्तीको हत्याको आरोपमा दाङ राप्ती गाउँपालिका वडा नं। १ भालुवाङका किरण भन्ने कुमविर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनलाई आज जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । २०६७८ असार २८ गते राती हत्या गरेको भन्दै रुकुम उत्तरगंगा गाउँपालिका–१२ वस्ने ४२ वर्षिय गौकर्ण गुरुङको नाममा किटानी जाहेरी परेको थियो ।
तर, उनलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा हत्याको केही सपुत फेला नगरेको र उनैको वयानको आधारमा अनुसन्धान गर्दै जाँदा बुढा पक्राउ परेको प्रहरीले जनाएको छ । बुढालाई वाग्लुङको ढोरपाटन नगरपालिका वडा नं। ९ मा लुकिछिपी आलु खेती गरिरहेको वेला भदौ १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिए ।
अनुसन्धानका क्रममा बुढाले अल्लो धागो र माछा पालनका गर्दाको करीव ३ लाखको आर्थिक लेनदेनमा घर्तीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाइएको एसपी शर्माले बताए । उनलाई कर्तव्य ज्यान मुद्धामा म्यादथप गरी अनुसन्धान वढाइएको प्रहरीले जनाएको छ ।











