इन्द्रेणी संवाददाता
दाङ, ६ भदौ । घोराहीमा व्यक्तिगत लगानीमा ‘भ्यूटावर’ निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका– १४ निवासी भारतीय सेनाका पूर्वक्याप्टेन ८७ वर्षिय मानबहादुर पुन र श्रीमती ७८ वर्षिय दिलमाया पुनको सम्मानमा उनका छोरारु गुमानबहादुर पुन, नरेन्द्र पुन र डा. बसन्त पुनले करीव ४५ लाखको लगानीमाले ‘मनदिल भ्यूटावर’ निर्माण गरेका हुन् ।

towrघोराही उपमहानगरपालिका वडा नं. १८ मा रहेको नमःछु वौद्ध गुम्बा परिषरमा निर्माण गरिएको उक्त टावरको आज प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरे । भ्यूटावरको उद्घाटन गर्दै यो समाजमा अत्यन्त प्रशंनिय कार्य भएको बताए ।

कार्यक्रममा प्रदेश नं. ५ का पर्यटन मन्त्री लिला गिरीले प्रदेश क्षेत्रभित्र रहेको पर्यटन विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार पनि गम्भीर रहेको भन्दै यस क्षेत्रमा प्रदेश सरकारले पनि बजोट छुट्याएको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, नेपाल संघ दाङका अध्यक्ष सितलाल पुनमगरलगायतले आफ्ना विचार राखेका थिए ।

करीव ५२ फिट अग्लो उक्त टावर झण्डै १७ कट्ठा जग्गामा निर्माण गरिएको उक्त भ्यूटावरबाट एकपटकमा १५ देखि २० जनाले दृष्य अवलोकन गर्न सकिने छ । यहाँबाट घोराही बजार र त्यसको आसपासका क्षेत्रको अवलोकन गर्न सकिने भ्यूटावर निर्माणकर्ता नरेन्द्र पुनले जानकरी दिए । टावरबाट दृष्य अवलोकन गर्दा भने आम नागरिकलाई प्रतिव्यक्ति ५० रुपैयाँ र विद्यार्थीलाई ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यसबाट संकलित रकम खर्च कटाएर शिक्षा र स्वस्थ्य क्षेत्रमै लगानी गरिनेछ ।