घोराही, ७ साउन । नागरिक समाज दाङको नियमित बैठक सोमबार घोराहीमा सम्पन्न भएको छ । समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षता बसेको बैठकले मेडिकल शिक्षाका सन्दर्भमा डा. गोविन्द केसीले गरेको अनसनप्रति नागरिक समाज दाङको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै शिक्षा र स्वास्थ्यजस्तो जनसरोकारका विषयमा राज्यको दायित्वलाई सर्वोपरी ठान्दै डा. केसी र नेपाल सरकारकाबीच अविलम्ब वार्ता गरी समस्याको ठोस र दिर्घकालीन समाधान गर्नेतर्फ सम्वद्ध पक्षहरुमा हार्दिक अपिल गरेको छ । साथै डा. केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गएकोतर्फ सबैपक्ष संवेदनशील बन्न समेत अनुरोध गरेको छ । जुनसुकै कारण भए पनि जनताको स्वास्थ्यसेवाको अधिकार कुनै पनि पक्षबाट अवरोध नहोस् भन्ने कुरामा गम्भीरतापूर्वक ध्यान दिन सम्बद्ध सबैलाई बिनम्र अनुरोध गरेको छ ।
त्यस्तै पछिल्लो समयमा राजनीतिक दलहरुबीच तीब्र ध्रुवीकरण देखिएको र त्यसले मुलुकमा निम्तिने संकटप्रति सचेत बन्न र जनसरोकारका साझा विषयमा राष्ट्रिय सहमति कायम गरी अघि बढ्न सबै राजनीतिक दललाई आग्रह गरेको सचिव लक्ष्मी आचार्य जानकारी दिएकी छन् ।











