इन्द्रेणी संवाददाता
दाङ, ४ साउन । नेपाल अटो मेकानिक्स ट्रेड युनियन दाङले सडक दुर्घटनामा परी गम्भीर घाइते भएका पट्टा मेकानिक्स अजय शर्मालाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
२१ औ स्थापना दिवसको अवसरमा शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी शर्माको उपचारका लागि नगद एक लाख सहयोग हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नेपाल अटो मेकानिक्स टेड युनियन दाङका अध्यक्ष दिलबहादुर क्षेत्रीले सहयोग रकम शर्माकी धर्मपत्नीलाई हस्तान्तरण गरेका थिए । शर्मा तीन महिना अघि भारतमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनी घोराहीस्थित अटो भिलेजमा पट्टा मिस्त्रीको रुपमा काम गर्दै आएका थिए ।
स्थापना दिवसकै अवसरमा केही दिन अघि घोराही–लमही सडकखण्डमा दुर्घटनामा परी घाइते भएका अशोक चौधरीलाई पनि उपचारका लागि सहयोग गरिएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले अटो मेकानिक्सहरुले अत्यन्त जोखिम रुपमा काम गर्नु परेकाले उनीहरुको जीवन विमालगायतका अन्य सेवा सुविधामा ध्यान दिइनुपर्नेमा जोड दिएका थिए ।











