जुम्ला, ३२ असार । चिकित्सा क्षेत्र सुधारको माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग बाहिरी भेटघाट प्रतिबन्ध लगाइएको छ ।अनशनका कारण स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि संक्रमणको खतरा औंल्याउँदै चिकित्सकले बाहिरी भेटघाट प्रतिबन्ध गरेका हुन् ।
डा. केसीको स्वास्थ्य अवस्था बुझ्न दैनिक डेढ सय बढी शुभचिन्तक आउने गरेका छन् ।
चिकित्सक नारायण कँडेलले बाहिरबाट डा। केसीलाई भेट्न आउनेलाई रोकेको बताए । ‘अहिले हामीले कसैलाई भेट्न दिएका छैनांै । डा. केसीले पनि चिकित्सकसँग पनि बोल्न सक्नुहुन्न ।’
राजधानीमा खबर छ- कँडेलले डा. केसीको स्वास्थ्य अवस्था निकै बिग्रिएको भन्दै जति बेला पनि अकल्पनीय घटना हुन सक्ने भएकाले अत्यावश्यक सामग्री पूर्वतयारीमा राखेर उपचार गरिरहेकोसमेत बताए ।
डा. केसीले सरकारले काठमाडौंबाट पठाएको चिकित्सकको टोलीबाट उपचार लिन अस्वीकार गरेका छन् ।अनशनको १६औं दिन पुग्दा समेत केसी भने आफ्ना अडानबाट पछि हटेका छैनन् । सरकार केसी अनशन छाडेर आउनुपर्ने र विधेयकमा व्यवस्था भएको आयोगमार्फत उनका माग सम्बोधन गर्नेमा लाग्नुपर्ने अडानमा छ भने डा। केसी सरकारले आफ्ना माग पूरा नभएसम्म मृत्युवरण गर्न तयार रहेको तर अनशन नछाड्ने अडानमा छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केसीको जीवन रक्षाका लागि आफूले मेडिकल टोली पठाउने तथा केसीलाई काठमाडौं ल्याएर उपचार गराउने वातावरण बनाइदिन अपिल गरे पनि चिकित्सक संघबाट असहयोग भएको बताए ।सरकारले वार्ताका लागि टोली गठन गर्ने कार्य अघि बढाएको छैन । सरकारले केसीसँग वार्ता भन्दा पनि पहिले उनको स्वास्थ्य रक्षाका लागि काठमाडौं ल्याएर उपचार गर्नुपर्ने जनाउँदै आएको छ । मन्त्री पोखरेलले केसीलाई काठमाडौंमा ल्याएर उपचार गर्नुपर्ने बताए ।











