दाङ, २९ असार । दाङमा पहिलो पटक अर्गानिक जमराको जुस उत्पादन गरिएको छ । काठमाडौं जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले दाङको घोराहीमा शाखा विस्तार गरेर जिल्लामै पहिलो पटक जमराको जुस उत्पादन शुरु गरेको हो ।
प्रालिले घोराहीको रतनपुरमा शाखा खोलेर जुस उत्पान थालेको छ । जिल्लामै नयाँ र नौलो भएकाले यसमा सेवाग्राहीको आकर्षण पनि बढ्दो रहेको प्रालि जिल्ला शाखा प्रमुख बालिका लामिछानेले बताइन् ।
जमराको जुस मुटु, प्रेसर, सुगर, थाइराइड, अल्सर, ग्याष्ट्रिकलगायतका विरामीहरुका लागि पनि राम्रो हुने भएकाले यसमा आकर्षण वढेको हो । स्थानीयको माग र स्वास्थ्यको सम्वेदशनशीलतालाई मध्यनजर गर्दै दाङमा यसको शाखा विस्तार गरेर जुस उत्पादन शुरु गरिएको पनि उनले जानकारी दिइन् ।











