काठमाडौं, २५ असार । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा ढिलासुस्ती गर्ने ठेकेदारको संरक्षणमा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय र मातहतका निकाय नै लागेको पाइएको छ।

siktaउक्त आयोजनामा ठेकेदारले काम नगरेपछि साउदी विकास कोषले यसअघि नै सहयोग रोक्ने चेतावनी दिइसकेको छ । साउदी विकास कोषले ठेकेदार नहटाएसम्म भुक्तानी गर्न नसकिने जानकारी गराएपछि गत वैशाख २८ गते अर्थ मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै ठेक्का तोड्नका लागि तालुक मन्त्रालयलाई सहमति दिएको थियो । तर, तालुक मन्त्रालय भने विभिन्न बहाना देखाउँदै ठेक्का तोड्नबाट पन्छिरहेको छ । नागरिक दैनिकमा खबर छ-जसले गर्दा काम झनै ढिला हुने देखिएको छ ।

साउदीले सिक्टाको डुँडुवा लगायत शाखा नहरका लागि दुई अर्ब ४१ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने अर्थ मन्त्रालयसँग सम्झौता गरेको छ । साउदीको सोही रकमबाट सिक्टा सिँचाइ आयोजनाले पहिलो चरणमा २३ किलोमिटर शाखा नहर निर्माण गर्न कोस्टाल पप्पु कन्सट्रक्सनसँग ९८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

२४ महिनाअघि ठेक्का सम्झौता गरेको पप्पु कन्सट्रक्सले हालसम्म करिब पाँच प्रतिशत मात्र काम गरेको छ । लामो समय काम नगरी समय खेर फालेकाले धेरैले अब पप्पुबाट डुँडुवा नहरको काम हुन नसक्ने भन्दै ठेक्का तोड्न माग गरिरहेका छन् ।

नेपालले आफ्नै लगानीमा सुरु गरेको उक्त सिँचाइ आयोजनामा वैदेशिक ऋण उपलब्ध गराउने साउदी पहिलो मुलुक हो । निर्माण कार्य सुरु भएदेखि नै नेपालले विश्व बैंक, एसियाली विकास बैंक लगायत अन्य मुलुकसँग ऋण लिने प्र्रयास गरे पनि सफल हुन सकिरहेको छैन ।

विगतमा भारतीय अवरोधका कारण निर्माण कार्य अघि बढ्न नसकेको भनिएको सिक्टा सिँचाइ २०६१ देखि नेपालले आफ्नै लगानीमा बनाउन थालेको हो ।ठेकेदारले काम नगर्दा वैदेशिक ऋण समेत उपयोग हुन नसक्ने देखिएपछि काममा अवरोध आउन सक्ने खतरा बढेको भन्दै स्थानीय चिन्तित छन् ।

साउदी विकास कोषका अपरेसन विभाग इन्जिनियर नासिर अल्कासवीले हस्ताक्षर गरेको निर्णयमा समयमा काम नगर्ने पप्पुको ठेक्का नतोडिए सम्झौता अनुसारको सबै भुक्तानी प्रक्रिया अवरुद्ध हुने उल्लेख छ ।

सोही आधारमा अर्थले तालुक मन्त्रालयलाई ठेक्का तोड्न सहमति दिएको बताइएको छ । अर्थ स्रोतले काम नगर्ने ठेकेदारलाई ठेक्का दिइराख्नु भनेको राज्यको लगानी खेर फाल्नु भएकाले पप्पुसँग ठेक्का तोड्न सहमति दिएको जनायो । सम्झौता अनुसार काम नगरे पनि पप्पुले उक्त आयोजनाको करिब ११ करोड रुपैयाँ लिइसकेको छ।