काठमाडौं, २८ जेठ। गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली चलाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर घाइते भएका गुन्डा लामालार्इ उपचारको लागि वीर अस्पताल लगिएको छ ।
सोमबार ललितपुरको यूएनपार्कमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अशोक लामालाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका उनलाइ वीर अस्पतालमा भर्ना गरिएको छ ।
लामाको साथबाट प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको छ । लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।
ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएको पत्ता लागेपछि प्रहरीले पक्राउ गर्न खोजेको महाशाखा प्रमुख धिरजप्रताप सिंहले बताए ।











