इन्द्रेणी संवाददाता
दाङ, २१ जेठ । गएको पुषमा बल्लतल्ल उडान शुरु भएको दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको हवाइ सेवा फेरि बन्द भएको छ । नियमित उडान गर्ने सम्झौता गरेको समिट एयरलाइनले पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको भन्दै हवाइ भाडामा पनि बृद्धि गरेपनि उडान प्रभाविन भएको हो ।
गएको पुष १९ गतेदेखि प्रतिव्यक्ति दाङ–काठमाडौं ७ हजार २ सय रुपैयाँमा उठान भर्दै आएको समिटले पेट्रोलियम पदार्थको मुल्य बृद्धिसँगै भाडामा बृद्धि गरेर ९ हजार ८ सय ८० रुपैयाँ बनाए पछि उडान नै बन्द भएको छ । सातामा आइतवार र शुक्रवार उडान भर्दै आएको समिट एयरलाइनले भाडामा कुरा नमिल्दा जेठ १३ र २० गते उडान भरेन ।
गएको आइतवार दाङबाट काठमाडौंका लागि टिकट काटेका यात्रुलाई समेत पुरानो भाडामा उडान गर्न नसकिने एयरलाइनले जनाएपछि बुकिङ टिकट समेत फिर्ता गर्नुपरेको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताए । भाडाकै कारण उडान बन्द भएपछि यहाँको हावाइ सेवा नै अनिश्चित भएको छ । तर भाडाका बारेमा कुरा भइरहेको उडानका लागि समन्वय गर्दै आएको तुलसीपुर उपमहानगरपालिकाले बताएको छ ।











