काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्कालीन दुई पार्टीका संगठनलाई प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गर्न मापदण्ड तयार गरेको छ । नेकपाले जनवर्गीय संगठन र प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गरी बनाइने नयाँ कमिटी छरितो बनाउने मापदण्ड तयार गरेको हो । सचिवालयले कमिटीमा कस्ता व्यक्तिलाई ल्याउने भन्ने मापदण्ड पनि बनाएको छ ।

KP-सचिवालयले मापदण्ड तोक्दै तीन महिनाभित्र सबै कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया सक्न अन्तरपार्टी निर्देशन दिइसकेको छ । पार्टी कमिटीको एकताका लागि सातै प्रदेशमा तत्कालीन एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई सदस्य रहने गरी कार्यदल गठन गरिएका छन् । नयाँ पत्रिकामा खबर छ- यस्तै दुबै पार्टीको जनवर्गीय संगठनको एकताका लागि सम्बन्धीत पार्टीका इन्चार्ज र अध्यक्ष रहेको २२ जनवर्गीय कार्यदल गठन भएका छन् ।

प्रदेश, जिल्ला र स्थानीय कमिटी गठनको मापदण्ड
प्रदेश र जिल्ला संगठनमा अध्यक्ष, सचिव र सदस्यहरुमात्रै रहने गरी कमिटी बन्ने छन् । प्रदेश कमिटी कम्तिमा १५१ सदस्यीय हुने छ । जिल्ला कमिटी भने न्यूनतम कम्तिमा ७५ सदस्यीय हुने छ । तर, प्रदेश र जिल्लाअनुसार कमिटीको आकार केही फरक पर्नसक्छ । प्रदेश र जिल्ला कमिटी सचिवालय भने कमिटीको कूल संख्याको एक तिहाई आधारको बन्ने छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भने प्रत्येक निर्वाचन क्षेत्रबराबर ५ सदस्य थपेर कमिटी बनाइने छ । जसअनुसार काठमाडौमा १२५ सदस्यीय जिल्ला कमिटी बन्ने छ ।