तुलसीपुर, २० जेठ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले लैङ्गिक समानता व्यवहारमा पनि हुनुपर्ने वताएकी छन् । समाजमा महिलाप्रति गरिने नकारात्मक व्यवहारमा कमी नआएको वताउँदै उनले चेतनाको विकास गर्न आवश्यक रहेको समेत वताइन् । ‘महिला दिदी वहिनीहरुले कहिल्यै पनि आफुलाई कमजोर महसुस गर्न हुँदैन हामीले पनि अवसर पाए धेरै गर्न सक्छौ ’ उनले वताईन ।

Gender-तुलसीपुर उपमहानगरपालिकालाई लैङ्गिक विभेद मुक्त नगरपालिकाका रुपमा स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको सचेतना अभियानको सुरुवात गर्दै आचार्यले सो कुरा वताएकी हुन् । उनले महिलालाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले महिला पहिला भन्ने एप्लिकेशनको सुरुवात गरेको समेत वताइन् ।
स्थानीय तहमा सामाजिक समावेशीकरण,लैङ्गिक समानता, महिला हिंसा तथा कानुनी कार्यान्वयन विषयमा जानकारी दिने उद्देश्यका साथमा सञ्चालन गरिएको अभियानको सुरुवात तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ को वनहरीबाट गरिएको थियो । विकटमा वस्ने महिलाहरुलाई लक्षित गरेर अभियान सात ठाउँमा सञ्चालिन गरिने कार्यपालिका सदस्य जानका रेग्मीले वताइन् । विकटमा महिलाहरुलाई महिला अधिकारका वारेमा थाहा नहुने भएकाले उनीहरुलाई नै लक्षित गरेर अभियान सञ्चालन गरिने पनि उनले वताइन् ।

अभियानको आरम्भ कार्यक्रममा वोल्दै पुर्व सभासद शारदा स्वर्णकारले दलित महिलाको अवस्था सुधारिन नसकेको वताउँदै राज्यले अधिकार दिए पनि कानुनको पालनामा ध्यान नदिएको वताइन् । उनले महिलाले अवसर पाए धेरै गर्न सक्छन् भन्ने कुरा देखाउन आवश्यक रहेको समेत जानकारी दिइन् ।

वडाध्यक्ष वालकृष्ण रानाको अध्यक्षता र कार्यपालिका सदस्य चित्रा मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यपालिका सदस्य डिला परियार, वडा सदस्य युवा करारा, जिल्ला समन्वय समितिकी सदस्य सावित्रा रिजाल, हरिकला मियाँ लगायतले लैङ्गिक समानताका वारेमा वोलेका थिए । कार्यक्रमको सहजिकरण कार्यपालिका सदस्य जानका रेग्मीले गरेकी थिइन् । सचेतना अभियानको प्रशिक्षकमा मानव अधिकार सञ्जाल दाङ्गका अध्यक्ष केशव कुमार शर्मा रहेका छन्।