तानसेन, १९ जेठ । पाल्पा वस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । रम्भा गाउँपालिका वडा नं। ४ हुमिनमा शुक्रबार भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको हो ।

palpa-accidentतानसेनबाट पाल्पाकै रामपुरमा रहेको सहकारी संस्थाको अवलोकन भ्रमणमा जाने क्रममा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरू यात्रा गरेको बस दुर्घटनामा परेको हो ।

पाल्पाकै पूर्वी भेगमा रहेको रामपुरको अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाको अवलोकनका लागि तानसेनबाट रामपुर जाने क्रममा लु। १ ख। ९७५ नम्बरको बस हुमिनको धारादीमा शुक्रबार दुर्घटनमा परेको थियो । बस पाँच सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुनेमा तानसेन– ४ का विष्णुमान बज्राचार्य, तानसेन –३ का देवेन्द्रलाल प्रधान, तानसेन–३ कृष्णमान बज्राचार्य, तानसेन –३ का क्षेत्रमान शाक्य, तानसेन –६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन–४ का कृष्णबहादुर बोहोरा, तानसेन–६ का दुर्गाबहादुर सारु, तानसेन –२ का लोकनाथ ढकाल, तानसेन– ३ का बसन्ती खाँण, तानसेन–६ का गीता बुढाथोकी, तानसेन–६, का सचिव बज्राचार्य र तानसेन –३ कमला कार्की, तानसेनकी दुर्गादेवी श्रेष्ठ र तानसेन–२ की मधु सारु र मुना पारु रहेका छन् ।
विष्णुमान बज्राचार्य पूजा कम्प्युटर कन्सल्टका सञ्चालक, क्यान महासङ्घका केन्द्रीय सदस्य र पाल्पा उद्योग वाणिज्य सङ्घका सदस्य हुन्। बोहोरा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख हुन्।

मृतकमध्ये कमला कार्की , मुना पारु र मधु सारुको लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य ११ जनाको घटनास्थलमै मृत्यु भएको पाल्पाका ट्राफिक प्रहरी प्रमुख प्रविन आचार्यले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएका प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, अर्जुन थापा र प्रविण बज्राचार्यको तानसेन मिसन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।