इन्द्रेणी संवाददाता
काठमाडौं । सभामुख कृष्णबहादुर महराले स्वच्छ वातावरण महाअभियान २०७५ को शुभारम्भ गरे । विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबारदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उद्घाटन गरेका हुन् ।
काठमाडौंस्थित शंखपार्कको सडकमा झाडु लगाउँदै सभामुख महराले स्वच्छ वातावरण महाअभियानको शुभारम्भ गरे । सडक सफा गर्नुअघि आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताए ।
‘सरसफाइ आफूबाटै शुरु गरौं, एक–एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ, उनले भने ‘सबै सरसफाइमा लागेपछि गाउँ, सहर र देश सबैतिर सफा हुन्छ र स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ ।’











