घोराही, ११ जेठ । घोराहीको विद्यानीलकण्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार उत्साहपुर्वक मतदानबाट आफ्नो नेतृत्व आफै चुनेका छन् । ३ घण्टाबढी समय मतदान गरी उनीहरुले आफ्नो नेतृत्व चुनेका हुन् ।
निर्वाचनका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो भने कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको प्रयोगात्मक अभ्यासमा यसपल्ट मतदाता शिक्षा र लोकतन्त्रको अभ्यास सिकाउने उद्देश्य राखिएको विद्यालयका प्रिन्सिपल गणेश के.सी.ले जानकारी दिए ।
विद्यालयमा रहेका चार सदनका क्याप्टेन, भाइस क्याप्टेन र विद्यालयका समग्र विद्यार्थी नेताका रुपमा एक छात्र र एक छात्रा गरी जम्मा छ जनाका लागि निर्वाचन भएको थियो । विभिन्न पदमा १६ जना छात्रछात्राहरुले उम्मेदवारी दिएकामा निर्वाचनमा सदनका क्याप्टेनमा चिन्तन पोखरेल, भिषण आचार्य, मोहम्मद नासिर र सुमित रोका मगर.विजयी भएका छन् ।
यसैगरी भाइस क्याप्टेनमा अंशु गौतम, दक्षिणा के.सी. र शिव के.सी. चुनिएका छन् । यसैगरी विद्यालयको हेड गर्लमा इलिसा रोकामगर र हेड ब्वायमा आरएन मियाँ निर्वाचित भएका छन् । शिक्षक सुबिन बुढामगर निर्वाचन अधिकृत रहन’भएको थियो भने विद्यार्थीहरु नै उम्मेदवार प्रतिनिधि बनेका थिए । निर्वाचनका लागि ४ वटा मतपेटिकाहरु निर्वाचन कार्यालय दाङले उपलव्ध गराएको थियो ।











