काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने इतिहास बनेको बताएका छन् । एमाले र माओवादी केन्द्रको एकता घोषणा कार्यक्रममा ओलीले सम्बोधन गर्दै नेपाली जनताको भावना र चाहनाअनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिइएको बताए ।
आगामी चुनावमा कम्तीमा तीन चौथाइ प्राप्त हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ पार्टीमा दुई वटा अध्यक्ष किन रहेको भन्ने सन्दर्भमा सुशासन र समृद्धिको यात्रा टेम्पो चलाए जस्तो होइन, जेट इञ्जिनमा दुई वटा इञ्जिन हुन्छन् र पाइलट पनि दुई वटा हुन्छन् नयाँ पार्टीभित्र दुईवटा अध्यक्ष राख्नुको कारणको स्पष्ट पारे ।
अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्र बीचको एकता सामान्य प्रक्रिया नभई एकआपसमा अन्तरघुलित भएको भन्दै एकता ऐतिहासिक र महत्वपूर्ण रहेको बताए । एकता प्रक्रियाको महत्व र आवश्यकतालाई जोड दिँदै उहाँले भने, “नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ बाँचिरहनुभएको भए आज खुशीले नाच्नुहुन्थ्यो ।”
“बहुमतसहितको सरकार, प्रदेश र स्थानीय तहमासमेत हाम्रै बहुमत छ, नेपालको कम्युनिष्ट आन्दोलन यो रुपमा आइपुग्दा संस्थापक महासचिव कति खुशी हुनुहुन्थ्यो होला ?” अध्यक्ष ओलीले भने।
उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब शरदऋतु नभएको र सधैँ हराभरा हुने दिन शुरु भएको उल्लेख गर्दै “आजसम्म पनि एउटै कम्युनिष्ट पार्टीसँग बहुमत थिएन, अब एउटै पार्टीको सरकार छ, एउटै को बहुमत छ, छवटै प्रदेशमा सरकार छ, पपुलर भोटको बहुमत छ, स्थानीय तहमा एक्लैको बहुमत पुग्छ, त्यसकारण हाम्रा अगाडि सुन्दर सपना छन्, ती सपना पूरा गर्नुपर्दछ,” ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले सबै तहका सरकार सही र प्रभावकारी नीति बनाएर अगाडि बढ्ने दृढता व्यक्त गर्दै “अब कोही कसैलाई पनि दोष दिएर उम्कने ठाउँ छैन, सही नीति तय गरेर देश निर्माण गर्ने अठोट गरेका छाँ,” ।
नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली नागरिकको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताए । नेकपाको एकता घोषणा समारोहमा उनले एकता प्रक्रिया देश र जनताको आर्थिक समृद्धि तथा विकासका लागि गरिएको सचेत पहल भएको बताए ।
अध्यक्ष दाहालले पार्टी एकताका लागि नागरिकसँग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली नागरिकलाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु रहेको बताए ।
अध्यक्ष दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले संघर्षमा त्याग र बलिदान गरेको, क्रान्ति गरेको, पार्टी सरकारमा गएपछि भ्रष्ट, नैतिकहीन भएको स्मरण गर्दै नेपाली जनतालाई धोका नदिने, आर्दशबाट विचलित नभई, एक्काइसौँ शताब्दिको भावना र चाहनालाई बुझ्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष दाहालले अक्सिजन र हाइड्रोजन मिलेर पानी बने जस्तै एमाले र माओवादी केन्द्र मिलेर नयाँ कम्युनिस्ट पार्टी बनेको बताउँदै राष्ट्रिय स्वाधिनता, एकता, आत्मसम्मान, नेपाली भएर बाँच्ने प्रक्रियालाई एकता प्रक्रियाले नयाँ आधार तयार पारेको बताए ।











