दाङ, १५ असार
आज असार १५ अर्थात, राष्ट्रिय धान दिवस । आज दहि च्युरा खाने दिन पनि । दाङसहित देशैभर विभिन्न कार्यक्रम गरी धान दिवस मनाईदै छ ।
जिल्ला कृषि विकास कार्यालय, प्रेस सेन्टर नेपाल दाङले आज कृषकहरुको खेतवारीमै पुगेर औपचारीक कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाँउन लागेका छन ।
कृषि कार्यालयले आज तुलसीपुर नगरपालिका ६ उत्तरकपडादेवीमा कार्यक्रम गर्दैछ भने प्रेस सेन्टर दाङले तुलसीपुर १५ हलवारस्थित शहिद परिवारको घरमा पुगेर श्रमदान गर्दैछ । नेपालले २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ ।
यसैविच, दाङमा अहिलेसम्म २० प्रतिशत भु भागमा रोपाइ सकिएको कृषि कार्यालयले वताएको छ । बरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीका अनुसार खासगरी देउखुरी क्षेत्र र सिचाँइ सुविधा भएको स्थानमा गरी २० प्रतिशत क्षेत्रफलमा धान रोपाइ भएको हो ।
प्रशस्त वर्षात नहुँदा किसानहरुले धमाधम रोपाइ शुरु गर्ने अवस्था भने नरहेको कार्यालयको भनाइ छ । दाङमा झण्डै ३६ हजार हेक्टर क्षेत्रफलमा घान खेति हुने गरेको छ भने नेपालमा झण्डै १४ लाख हेक्टर जमिनमा धान खेति हुने गरेको तथ्याँक छ । तराईमा झण्डै ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ ।।
