काठमाडौं,१५ असार । नयाँ शक्ति नेपालले डा. बाबुराम भट्टराई पछि तीन नेतालाई सह संयोजक बनाएको छ । मधेसबाट रामचन्द झा, आदिवासी जनजातिबाट महेश कोर्मचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह–संयोजक बनाइएको प्रवक्ता खिमलाल देवकोटाले बताए ।केही दिनदेखि जारी नयाँ शक्तिको केन्द्रीय सचिवालयको बैठकमा संयोजक भट्टराईले संयोजकहरुको प्रस्ताव गरेका थिए । केही नेताको असन्तुष्टिबीच तीन नेतालाई सह संयोजक बनाइएको हो ।
असार १०, १२, १३ र १४ गतेका दिन चार दिनसम्म पार्टीको केन्द्रीय सचिवालयको वैठकले राष्ट्रिय भेलावाट गठित कार्यदलले परिमार्जन सहित पेश गरेको विधान प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीको अवलम्वन गर्दै अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरु सम्पूर्ण सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुने, एक व्यक्ति एक कार्यकारी पद र दुई कार्यकाल, चुनिएका प्रतिनिधिले जिम्मेवारी पूरा नगरेमा निर्वाचित प्रतिनिधिलाई प्रत्याह्वानको अधिकार प्रयोग गरी फिर्ता बोलाउने व्यवस्था, आन्तरिक अनुशासनको प्रश्नमा पार्टीभित्र शक्तिशाली अनुशासन आयोग र पार्टीका नेता कार्यकर्ताका बारेमा पार्टीबाहिर गम्भीर आरोप लागेमा स्वतन्त्र छानविनकालागि लोकपालको व्यवस्था, पार्टीलाई सदाचार र पारदर्शी वनाउन सदाचार आयोग र लेखा आयोगको व्यवस्था समेत गरेको छ ।
रातोपाटी बाट