काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले माओवादी पार्टी एकताले नेपालको सुखद भविष्यको दर्ता गर्ने काम गर्ने बताएका छन् ।
मदन–आश्रितको २५ औं स्मृति दिवसको अवसरमा विहिबार एमाले पुरानो पार्टी मुख्यालय वल्खु प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई दलको एकताले नै अवको नेपाल कता जान्छ भन्ने तय भएको बताए ।
कार्यक्रममा ओलीले भने, “ढुक्क हुनुहोस् दमनकारी होइन, विकासकारी हुनलाई एकता गरिएको हो, शासन गर्नलाई हैन सेवा गर्नलाई एकता गरिएको हो, भ्रष्टाचार गर्नलाई हैन त्यसको नियन्त्रण र सुशासन कायम गर्नलाई पार्टी एकता गरिएको हो ।” पार्टी एकता भएर संसदमा आरामदायी एकल बहुमत भएपनि प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसलाई साथमै लिएर अघि बढ्ने समेत उनले बताए ।











