काठमाडौँ, २५ वैशाख । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई बनाउने निर्णय गरेको छ ।

dinanathसंसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा बनाएर सोहीअनुरुप सरकारको नीति तथा कार्यक्रम ल्याइनुपर्नेबारे छलफल भएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

वाम गठबन्धनले जनतासमक्ष प्रस्तुत घोषणापत्रलाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम तयार पारिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ । संघीयताको मूल्यमान्यतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने र उक्त विषय पार्टी संयोजन समितिमा पनि छलफल गरिनुपर्नेमा संसदीय दलले जोड दिएको छ ।

बैठकले विकासनिर्माणका कार्यलाई सातै प्रदेशमा सघन रुपमा अघि बढाउन प्रदेशमा संयोजन समिति बनाउने निर्णय गरेको छ ।