बझाङ, २५ वैशाख । कक्षा ६ मा पढ्दै गर्दा प्रेम विवाह गर्नुभएकी बझाङको तल्कोट गाउँपालिका ५ की पुनमकुमारी सिंहलाई २० वर्षकै उमेरमा श्रीमानसँग सम्बन्ध विच्छेद गर्नुपर्ला भन्ने कल्पनासम्म पनि थिएन । तर १४ वर्षको उमेरमा विवाह गर्नुभएकी पुनकुमारीको ६ वर्ष नबित्दै श्रीमानसँग सम्बन्ध विच्छेद भयो ।

divorceकक्षा ६ मा पढ्दै गर्दा पुनम पल्लो गाँउका १५ वर्षका गगन सिहँसंग प्रेममा पर्नुभएको थियो । केटाकेटी दुवैको मञ्जुरी भएपछि परिवार पनि बाधक बनेन, उनीहरुको विवाह भयो ।

स्कुले बुहारी भएरै पुनमले तल्कोट विद्यालयवाट ११ कक्षा पास गरिन्। श्रीमानले भने अर्कै केटीसँग विवाह गरे । उनको सम्बन्ध अघि बढ्न सकेन । गगनले गएको वर्ष छिमेकी गाउँकी केटीसँग दोस्रो विवाह गरे ।

श्रीमानले कुटपिट गरेको सम्झेर आँसु झार्दै पुनमले भनिन्, ‘यो सबै अपरिपक्व भएर गरेको विवाहको फल हो ।’ आफू परिपक्व नभइकनै गरेको निर्णयलाई बुवाआमाले पनि सदर गरिदिँदा बालखकालमै गरेको मायामा धोका भएको उनको भनाइ छ । बुबाआमाले त्यसबेला रोकिदिएको भए अहिले त्यस्तो अवस्था आउने थिएन भन्ने पुनमलाई लागेको छ ।

केटाकेटी उमेरमै प्रेममा परेर विवाह गर्ने अनि चार पाँच वर्ष नपुग्दै सम्वन्ध विच्छेद हुनेमा तल्कोटकी पुनम मात्र छैनन् धमेनाकी सुशिला धामी, खप्तडछान्ना गाउँपालिकाकी सञ्जु गिरी, लक्ष्मी खत्री, सुर्माकी गुनमती बोहरा, छविस पाथीभेराकी सुशिला उपाध्यायको पनि यस्तै पीडा छ । श्रीमानले दोश्रो श्रीमती ल्याएपछि कसैले घरबाट निस्कनु परेको छ कोही श्रीमानसँग अंशबण्डा माना चामलका लागि मुद्दा लडिरहेका छन् ।

बझाङमा सानै उमेरमा विवाह गर्दा २५ वर्ष नपुग्दै श्रीमानले अर्की श्रीमती ल्याएको र आफू समस्यामा परेको भन्दै ३ सय ५० जना महिलाले उजुरी दिएको जिल्ला महिला अधिकार मञ्चकी सीता सिंहले जानकारी दिए।

विवाह गर्दा होसियारी नपुर्याउँदा अनेकौ समस्या झेल्नुपर्दो रहेछ छबीस गाउँपालिका वाहुनगाँउकी सुशिला उपाध्ययाले भने, ‘बालकालमै विवाह गर्ने युवती श्रीमानले अर्की श्रीमती ल्याएपछि बेचविखन र ओसारपसारको जोखिममा पर्ने खतरा बढीरहेको छ ।’ यस्तो समस्या भोगिरहेका धेरै महिला भारतमा देहब्यापारमा पनि संलग्न रहेको उनको दावी छ।

खप्तडछान्ना गाँउपालिका २ की सञ्जु गिरीको बेदना पनि उस्तै छ । १५ वर्षमै विवाह गर्नुभएकी उनको श्रीमान अर्कै केटीसँग लागेपछि खान लगाउनकै समस्या सुरु भएको सञ्जु बताइन् ।

बझाडमा बालविवाहकै कारण बहुविवाह सम्वन्ध विच्छेदका घटना बढेको पाइएको छ । यस्तो समस्या भोगिरहेका महिलालाई नागरिता बनाउन पनि समस्या हुने गरेको छ । धेरैको त विवाह दर्ता समेत नहुने गरेकाले उनीहरुका सन्तानको जन्मदर्ताको पनि समस्या हुने गरेको छ । सरकारी कागजात नहुँदा उनीहरुकाले कानूनी लडाइ लड्न समस्या भोग्नु परिरहेका दुखेसो पोख्छन् ।
डीबी विष्ट/उज्यालो ।