दाङ, २३ बैशाख । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल, राप्ती समितिले कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषयको पाठ्यक्रम राख्न पाठ्यक्रम विकास केन्द्रसँग माग गरेको छ । समितिले बिज्ञप्ती निकालेर नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रले विभिन्न बाहनामा नेपाली भाषामाथि मनपरी गर्दै आएको भन्दै त्यसैको निरन्तरता स्वरूप कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषयलाई ५०/५० पूर्णाङ्कको बनाउने वा कुनै एउटा कक्षामा मात्र सीमित गर्ने वा अन्य विषयका नाममा विस्थापन गर्नेजस्ता कार्य गरिरहेको भन्दै त्यसो नगर्न माग गरेको हो ।
समितिका राप्ती संयोजक सुनिल पोख्रेल र सचिव राजेन्द्र गौतमद्वारा जारि बिज्ञप्तीमा नेपाली भाषा आम नेपालीहरूको मातृभाषा तथा सबै नेपालीहरूको साझा सम्पर्कभाषा भएकाले यसको संरक्षण र संवद्र्धनमा जुट्नु पर्ने अबस्थामा नेपाली भाषामा प्रहार गरी बेथितिहरू निम्त्याउने प्रयास भैरहेको दावी गर्नुभएको छ । विज्ञप्तीमा कक्षा १२ सम्मको पठन पाठनलाई विद्यालय तह मानिएको, विद्यालयका सबैजसो विषयको पठन पाठनको माध्यम नेपाली भाषा नै भएकाले विद्यार्थीहरूमा नेपाली भाषाको भाषिक सीपको विकासका लागी पनि कक्षा ११ र १२ मा सत पूर्णाङ्खको नेपाली विषय अनिवार्य भएको उल्लेख छ ।
“विद्यार्थीहरूमा नेपाली भाषाको भाषिक सीप विकास गर्न पाठ्यक्रम विकास केन्द्रले जोड दिनुको साटो अनिवार्य नेपाली विषयको पूर्णाङ्क घटाएर आम विद्यार्थीहरूलाई कमजोर पार्ने कार्यमा लागेको” भन्दै विज्ञप्तीमा “आधारभूत तहदेखि उच्च तहसम्म नेपाली विषय अनिवार्य गर्नुपर्ने आवश्यकता देखिरहेको सन्दर्भमा विद्यालय तहमै विस्थापन गर्न खोज्नु तथा खुम्च्याउने प्रयास गर्नु अत्यन्त गलत कार्य हो ।” भनिएको छ ।











