इन्द्रेणी संवाददाता
दाङ, १९ बैशाख । दाङका कृषकहरु परम्परागत मकैखेतीलाई छोडेर पूर्णयन्त्रिकरणतर्फ आकर्षित भएका छन् । जिल्लामा मकै छर्नेदेखि गोडमेल गर्नेलगायतका यन्त्रहरु भित्रिएसँगै यहाँका कृषकहरु यन्त्रीकरण खेतीतर्फ आकर्षित भएका हुन् ।

kirshiअहिले जिल्लाको राप्ती गाउँपालिका– २ पाखापानीस्थित पाँच बिघा नौ कठ्ठा जमिनमा मकैखेती गरिएको छ । इच्छुक स्मृति कृषि सहकारी संस्थाले जग्गा भाडामा लिएर मकैखेती शुरु गरेको र त्यहाँ मेसिनको प्रयोग गरेर मकै छरिएको छ ।

देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन–मकै कार्यक्रम लागू भएपछि परम्परागतरूपमा मकैको खेती गर्दै आएका किसानहरु पूर्णयान्त्रीकरणतर्फ जुटेका हुन् ।

कृषकहरुले जग्गा तयार पार्नेदेखि लिएर मकैको दाना छोडाउने काममा मेसिनको प्रयोग हुने गरेको छ । जग्गा तयार पार्न कन्टिभेटर, तावा हलो, रोटा भेटर, पावर ट्रिलरजस्ता मेसिनको प्रयोग हुन्छ । मल छर्न हाते झोले मेसिन र सिडड्रिलको प्रयोग हुन्छ । बीउ रोप्न सिड ड्रिल ज्याप प्लान्टरको प्रयोग भइरहेको छ । मकै गोडमेल गर्न मिनी ट्रिलरको प्रयोग भइरहेको छ । मकैको दाना छोडाउन थ्रेसर मेसिन प्रयोग भइरहेका छन् ।

दाङको देउखुरी क्षेत्रमा सिंचाइको राम्रो सुविधान भएकाले वर्षमा तीन सिजनको मकैखेती हुँदै आएको छ । यस क्षेत्रमा हिउँदे मकै ६ सय हेक्टरमा, वसन्ते मकै ३ सय हेक्टरमा र वर्षे मकै २ हजार १ सय हेक्टर जमिनमा हुँदै आएको छ ।