काठमाडौंँ, १९ वैशाख । ३३ किलो सुनको अवैध कारोबार तथा भरिया सनम शाक्यको हत्या घटना सम्बन्धमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवस लोहनी पनि तानिएका छन् ।

dibasलोहनीलाई काठमाडौंँबाट जिल्ला प्रहरी कार्यालय मोरङमा उपस्थित गराएर बयान लिएर अनुसन्धान शुरु गरिएको छ । त्रिभुवन विमानस्थल हुँदै तस्करहरूले विदेशबाट ल्याएको ३३ किलो सुन फागुनमा ‘गायब’ भएको थियो । सुन गायब भएपछि तस्करहरूले भरिया शाक्यको हत्या गरेका थिए । हत्याको अनुसन्धान गर्दा एसएसपी लोहनी महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख थिए ।

लोहनीसहित महाशाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रजित केसी र सई बालकृष्ण सञ्जेलमाथि शाक्यको हत्या ढाकछोप गरेको आरोप लगाइएको छ । सुन तस्करी, हत्या र यसमा प्रहरीको संलग्नताका विषयमा सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

समितिको निर्देशनबमोजिम डीएसपी केसी र सई सञ्जेललाई पक्राउ गरी हिरासतमा राखिएको छ । समितिकै निर्देशनमा लोहनीमाथि पनि अनुसन्धान सुरु गरिएको हो । यही घटनामा पूर्वडीआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, र प्रहरी जवान विष्णु खड्कालाई पनि हिरासतमा राखिएको छ ।