कपिलवस्तु, १४ असार
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले कपिलवस्तुमा झण्डै डेढ बिगाहा जग्गा कव्जा गरेको छ । बाणगंगा ८ बभनीमा भारतीय नागरिक शिवानन्द कुर्मीको जग्गा माओवादीले कव्जा गरेको हो । स्मरण रहोस, भारतीय नागरिक कुर्मीको सो जग्गा जनयुद्धकालमा कव्जा भएको जमिन थियो ।
तर, शान्ति सम्झौतामा आएपछि सो जग्गा निज कुर्मीले साविक पटना गाविस निवासी प्रदिप कुर्मीको नामबाट स्याङ्जा बानेचोक देउराली गाविस १६ निवासी अमृत सेनलाई बिक्री गरेको भन्दै पुनः कब्जा गरेको माओवादीले बताएको छ ।
त्यसबाहेक माओवादीले भारतीय नागरिक शिवानन्द कुर्मीले गाउँकै पल्टु थारुको जग्गा खाइदिएको, स्थानीयबासीसँगको लेनदेन नतिरेको, आफुले खेती नगर्ने र अरुलाई कजाउने गैरजमिनदार भएको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको बताएको छ ।
भारत र नेपालको दोहोरो नागरिकता लिएको भन्दै माओवादीले दुई वर्ष अघि निजको जग्गा कव्जा गरको थियो ।
उक्त जग्गा गत जेष्ठ १४ गते कुर्मीले सेनको नाममा पास गरिदिएका थिए । सत्यतथ्य जाँचको आधारमा ठिक एकमहिनापछि माओवादीले जग्गामा फेरि झण्डा गाडेको हो ।।











