दीपबहादुर घर्ती
जाजरकोट, १४ असार
शैक्षिक सुधारका लागी जाजरकोटका प्रधानाध्यापकहरुको ६ बुदे प्रतिवद्धता गरेका छन् । जिल्ला शिक्षा कार्यालय जाजरकोटले गरेको सम्मेलनमा सहभागी जिल्ला स्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा कार्यालय विच २० बुदे कार्यसम्पादन करार सम्झौता समेत भएको छ । ssssssssssss

प्रधानाध्यापकले विद्यालयमा सवै शिक्षक, शिक्षिकाको नियमित उपस्थिति कायम गरेर विद्यालयको प्रभावकारी पठनपाठनको सुनिश्चितता गर्ने, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाई उपलब्धी अभिबृद्धि गर्ने, विद्यालयका शिक्षक कर्मचारी र विद्यालय समुदाय वीचको सम्वन्धलाई समधुर बनाउने प्रतिवद्धता गरेका छन् ।

त्यस्तै विद्यालयमा आवश्यक स्रोत साधनको ब्यवस्थापन गरी सोको अधिकतम नतिजा प्राप्त हुने गरी पारदर्शी रुपमा खर्च गर्ने, विद्यालयमा एक बर्ष भित्र न्यूनतम सक्षमताको अवस्था (कक्षाकोठा, शिक्षक, पाठ्यपुस्तक, छात्राशौचालय, बुक कर्नर ) को सुनिश्चितता गर्ने र जिल्ला शिक्षा कार्यालयसँग गरिएको २० बुदे कार्य सम्पादन करारको कार्यान्वयन गर्ने प्रधानाध्यापकहरुलाई प्रतिवद्धता ब्यक्त गराईएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए ।

सम्मेलनमा उपस्थित प्रधानाध्यापकहरुलाई शैक्षिक सुधारका लागी विद्यालयमा बार्षिक कार्य तालिका र बार्षिक शैक्षिक योजना बनाई कार्यान्वयन गर्ने, निरन्तर विद्यार्थी मुल्यांकन प्रणालीलाई कार्यान्वयनमा गर्ने, पाठ्यपुस्तक र छात्रवृत्ति लगायतका अन्य अनुदानको पारदर्शी खर्च गर्ने, एक बर्षमा २२० दिन विद्यालय खुल्ने र १९२ दिन पठनपाठन गर्ने, कोर्स पुरा गर्ने, विद्यालय सुधार योजना बनाई कार्यान्वयनमा लैजाने, सिकाई उपलब्धी तथा परीक्षाफल विश्लेषण र सिकाइ उपलब्धी अभिबृद्धिको कार्ययोजना बनाई लागु गर्ने कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।।