नयाँदिल्ली, २३ चैत । त्रिदिवसीय राजकीय भ्रमणका क्रममा शुक्रवार नयाँदिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायत उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए ।
५४ सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रवार बिहान ९ बजे प्रधानमन्त्री ओली नयाँदिल्ली प्रस्थान गरेका हुन् । शनिवार महत्वपूर्ण भेटघाट गरी प्रधानमन्त्री ओली आइतवार स्वदेश फर्कने कार्यक्रम छ । रासस











