sdr

काठमाडौं, २२ चैत । सभामुख कृष्णबहादुर महराले पूर्वसभामुख दमननाथ ढुङ्गानासँग भेटवार्ता गर्नुभएको छ । सभामुख महराले आज (बिहीबार) बिहान बानेश्वरस्थित ढुङ्गानाकै कार्यकक्षमा भेटवार्ता गरेका छन् ।

sdr

भेटमा पूर्वसभामुख ढुङ्गानाले संघीय संसद प्रतिनिधि सभाको पहिलो सभामुखमा सर्वसम्मत भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । प्रतिनिधि सभाले अहिले उपयुक्त नेतृत्व पाएको पूर्वसभामुख ढुङ्गानाले बताए । ‘तपाईंको व्यक्तित्व अनुसार नै सुहाउने पद हो यो, पूर्वसभामुख ढुङ्गानाले भने, ‘तपाईंले सत्ता पक्ष र प्रतिपक्षलाई मिलाएर लिन सक्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

अब संसदलाई कस्तो बनाउने भन्ने कुरा सभामुखको हातमा रहेको भन्दै ढुङ्गानाले संसदलाई साँच्चिकै जनताको आवाज बोल्ने प्रतिनिधि संस्थाको रुपमा विकास हुनेमा आशा गरेको बताए । सो अवसरमा सभामुख महराले पूर्व सभामुख ढुङ्गानालाई विगतको अनुभवसहित सल्लाह, सुझाव र सहयोग गर्न अनुरोध गरेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिएका छन् ।

२०४८ सालमा पहिलोपटक आफू सांसद हुँदाको स्मरण गर्दै सभामुख महराले भने, ‘मेरो पहिलो सभामुख नै तपाईं हो । तपाईंबाट मलाई धेरै सहयोग हुनेछ भन्ने आशा गरेको छु । तपाईंले विगतमा खेलेको भूमिका र अनुभवले मेरो जिम्मेवारी पूरा गर्न धेरै सजिलो हुन्छ भन्ने लागेको छ ।’

सभामुख महराद्वारा मदनकृष्णलाई सान्त्वना
यसैगरी पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले सान्त्वना दिएका छन् । आज बिहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले गत सोमबार निधन भएकी श्रेष्ठ पत्नी यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै मदनकृष्णलगायत परिवारजनलाई समवेदना व्यक्त गरेका हुन् ।