काठमाडौँ, १६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम सार्वजनिक गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय गौरवका पाँच आयोजनालाई १०० दिने प्रमुख कार्यमा राखिएको छ । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनःनिर्माण, पर्यटन क्षेत्रको नीतिगत तथा कानूनी सुधार, कार्यपद्धतिमा सुधार रहेको छ ।
संस्कृति क्षेत्रतर्फ संस्कृति संरक्षण र प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाको संरक्षण तथा अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण, संग्रहालयको निर्माण तथा व्यवस्थापन १०० दिनभित्र गरिनेछ ।
यस्तै, पर्यटकीय तथ्याङ्क अद्यावधिक कार्य, दिगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता, एकीकृत पर्यटन पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण र हवाई उद्योग व्यवस्थापन प्रमुख प्राथमिकतामा परेका छन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका उच्च अधिकारी मातहत निकायका प्रमुखको उपस्थितिमा आज १६ बुँदे कार्ययोजना सार्वजनिक गर्दै ती प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरिने बताए ।
प्रमुख कार्ययोजना आफ्नो लहड र इच्छाले ल्याएको नभई मन्त्रालय र मातहतका निकायको साझेदारितासहितको प्रतिबद्धता रहेकाले सफल कार्यान्वयन हुने मन्त्री अधिकारीको भनाइ थियो ।
“प्रत्येक दिनलाई उपलब्धिमूलक बनाउनका लागि १०० दिने कार्यक्रम ल्याइएको हो, अन्य अल्पकालीन र दीर्घकालीन योजना पनि क्रमशः ल्याउने तयारीमा छौँ यी सबै कामबाट मन्त्रालयलाई पारदर्शिता र सुशासनमैत्री बनाउने हाम्रो साझा लक्ष्य हो”, उनले भने ।
अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा एक घण्टामै लगेज
मुलुकको एकमात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान चापलाई मध्यनजर गर्दै पर्यटन मन्त्रालयले हाल दैनिक १७ घण्टा सञ्चालन हुँदै आएको विमानस्थललाई अब दैनिक २१ घण्टा सञ्चालन गर्ने भएको छ ।
पर्यटनमन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र उडान सुरक्षित बनाउन विमानस्थलको उडान लम्ब्याउने र विमानस्थललाई सबैखाले प्रविधिमैत्री बनाइने उल्लेख गर्नुभयो ।
“आगामी १०० दिनभित्र विमानस्थललाई २१ घण्टा चलाउँछौँ पछि २४सै घण्टा सञ्चालन गरिनेछ अहिले मुख्य समस्या भनेको एयर ट्राफिक जाम हो, जहाज आकाशमै अडिने ‘होल्ड’ हुने र विमान फर्कनुपर्ने बाध्यता छ”, उनले भने ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले दैनिक ४७४ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् ।विमानस्थलबाट आन्तरिक उडानलाई अन्यत्र स्थानान्तरण गर्न काभ्रेपलाञ्चोकको ठूलीचौरका साथै अन्य सम्भाव्य विकल्पको अध्ययन गरिने कार्ययोजनामा उल्लेख छ । अन्तर्राष्ट्रिय आगमनतर्फका यात्रुको बढीमा एक घण्टाभित्र लगेज पाउने व्यवस्था मिलाउनाका साथै टर्मिनल भवनलाई सुविधामैत्री बनाइनेछ ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता
पर्यटनमन्त्रीको मुख्य प्राथमिकतमा राष्ट्रिय गौरवको आयोजना दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र अघि बढाइनुका साथै निर्माणाधीन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिइने छ ।
मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाका अनुसार भैरहवा विमानस्थलको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ भने पोखरा विमानस्थलको कार्य सन्तोषजनक रुपमा अघि बढेको छ ।











