इन्द्रेणी संवाददाता
दाङ, १६ चैत । प्रदेश नम्बर ५ का सभामुख पूर्ण घर्तीले पत्रकारहरुलाई निष्पक्ष भएर आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा महासंघ दाङशाखाले घोराहीमा आयोजना गरेको प्रादेशिक सञ्चार नीति विषयक अन्र्तक्रियामा बोल्दै उनले पत्रकारका पनि आ–आफ्ना विचार र आस्था भए पनि पत्रकारिताको कर्तव्य निष्पक्ष भएर निर्वाह गर्नुपर्ने बताए ।
शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा घर्तीले पत्रकारले राम्रो कामलाई सराहनियर नराम्रो काममा खबरदारी गर्नुपर्ने भन्दै यो कर्तव्य पनि निर्वाह गर्नु अनुरोध गरे । उनले पत्रकारहरुका आफ्नै मर्म भए पनि ५ नम्बर प्रदेशले पत्रकारहरुको हितमा रहने गरी सञ्चार नीति निर्माण गर्ने सभामुख घर्तीले बताए । उनले दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने सवालमा केही नीतिगत जटिलता भएको र त्यस्ता जटिलतालाई हल गर्ने प्रयास भइरहेको जानकारी दिए ।
कार्यक्रममा पत्रकार नरेन्द्र केसीले विषयगत आधारपत्र प्रस्तुत गर्दै अब बन्ने आम सञ्चार नीतिमार्फत पत्रकार महासंले पनि संघीयताको अनुभूत गर्ने प्रकारका नीति निर्माण हुनुपर्ने बताए ।
कार्यक्रममा महासंघका सल्लाहकार सुदीप गौतम, दुर्गालाल केसी, पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, प्रेस युनियनका अध्यक्ष सुशील वस्नेत, प्रेस चौतारीका उपाध्यक्ष संगीत बस्याल, प्रेस सेन्टरका कार्यवाहक जिल्ला अध्यक्ष प्रकाश चौधरीलगायत आफ्ना विचार राखेका थिए । महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव भुपेन्द्र वलीले गरेका थिए ।











