भुपेन्द्र वली
दाङ , ८ चैत्र । घोराही उपमहानगरपालिका — १८ हातिखर्ककी ८० वर्षिय भिमा मगर शनिबार दिउँसोको रापिलो घाममा घर पुग्ने उकालो चढदै थिईन । साथमा थिईन पिठँयुमा आफुनो दुधे बालक बोकेकी २० वर्षिय नातिनी साबित्री मगर ।

गाबिस फेरिएर घोराही नगरपालिका भयो । नगरपालिकाको पनि स्तरोन्नती भएर उपमहानगरपालिका भयो । तर भिमाले चढ्नुपर्ने उकालोमा सवारी गुडेन । ‘ खोइ गाडी त कहिल्यै चलेन । ठेगाना मात्र फेरियो । यि , हाम्रो जीवन त संधै यस्तै बाटोको धुलोमै हो । ’ उकालो चढ्दा बढेको सासको हस्याङफस्याङ बिच निधारमा आएको पसिनालाई पुच्छदै उनले भनिन ‘ सानो अटो आउन त सक्छ । तर त्यसलाई दिने किराया (भाडा ) काँ पाउनु ?

1

घोराही उपमहानगरपालिका भित्रको एउटा गाउँको यातायातको सुविधा नहुँदा देखिएको समस्या हो यो । तर हातिखर्कमा मात्र यसरी समस्याले घेरिएको छैन । जिल्लाका २ वटा उपमहानगरपालिका घोराही र तुलसीपुर एवं लमही नगरपालिका पहाडी बस्ती यस्तै समस्याले घेरिएका छन् । जिल्लाका विकट क्षेत्रमा राज्यको ध्यानाकर्षण समयसंगै भएको देखिन्छ । तर सुगम भनिएका उपमहानगर र नगरपालिका भित्रकै ग्रामिण र त्यसमा पनि पहाडी भेकका जनता भने आधारभुत पुर्वाधार बाट वञ्चित छन् । विकासविदहरु यसलाई असमानुपातिक विकास प्रद्धतीको परिणामका रुपमा अर्थयाँउछन ।

यस्तो पनि नगर ?
यि गाउँका स्थानीयले पञ्चायतकालिन ग्राम पञ्चायत देखि हालको उपमहानगर र नगरपालिकासम्मको ठेगाना फेरियो । तर दिनचर्यामा कुनै बदलाव नआएको बताउछन् । चैत महिना लागेसंगै घोराही १८ का जुद्ध बहादुर बुढालाई खानेपानीको चिन्ताले सताउन थालेको छ । ‘ अहिले त यहीँ घर नजिकै पानी आएको छ । दिनभरी लाईन लागेर भएपनि पानी पिउन पाईन्छ । ’ उनले भने ‘ चैत लागेसंगै पिउने पानीका लागि २ घण्टा परको बाटो पुग्नुपर्छ । ’ यस्तै यि गाउँमा शिक्षाको पनि उस्तै समस्या छ । प्रायँ गाउँमा प्राथमिक भन्दा माथिका विद्यालय छैनन् । घोराही १८ का तारा सार्की ५ कक्षामा पढ्ने आफनो छोरीलाई त्यो भन्दा अगाडीको कक्षामा पढाउने विषयमा चिन्तीत छन् ।‘ अब गाउँ नजिकको विद्यालय ५ कक्षा सम्म मात्रै छ । त्यो भन्दा माथिको लागि २ घण्टा लाग्ने गिठेपानी स्थित स्कुलमा पठाउनुपर्छ । ’ उनले भने ‘ ११ वर्षकी मेरी छोरीलाई त्यति टाढा कसरी पठाउनु । फेरी दससम्म पढेर मात्र पुग्ने पनि हैन ।’ सिँगो गाउँमा दस कक्षा सम्म पढेको दुईजना मात्र रहेको उनले बताए । नगरभित्रकै प्रायः गाउँमा बिजुली छैन भने सवारीसाधन कहिल्यै गुडेका छैनन् ।आम्दानीको स्रोत नहुँदा प्रायः स्थानीय जिविकोपार्जनको खर्च जुटाउन विदेश जानुपर्ने अवस्था छ । स्थानीय जुद्ध बुढाले भने ‘ यति धेरै समस्या भोगिरहेका के हामी नगरभित्रकै बासिन्दा हौं ?

2

सुगम नगरका , दुर्गम गाँउ
घोराही उपमहानगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित हातिखर्क , घोडदौरा, सैघा , सवारीकोट , मौलाकोट , चाँचला , लगायतका गाँउमा सामान्य आधारभुत सेवा सुविधा पुगेका छैनन् । यस्तै तुलसीपुर उपमहानगरपालिकाको थरकोट ,धामा , बल्ले , वनहरी, स्विकोट,छिल्लिकोट ,फुलबारी, बकरे लगायतका गाउँमा उस्तै समस्या छन् ।लमही नगरपालिकाको धबारी , शितलापुर , बौराहाका जनताले आधारभुत पुर्वाधारको अभाव खेप्दै आएका छन् । प्रायः गाउँमा मानिसहरुको बस्ती रहेको छ । नगरक्षेत्र भन्ने बितिक्कै विकसित क्षेत्रका रुपमा अर्थयाईए पनि आफुहरु असमानुपातिक विकास पद्धतिको मारमा पर्दै आएको स्थानीयको गुनासो छ । प्रायः गाँउका स्थानीयले उस्तै समस्या भोग्दै आएका छन् । केही गाउँमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि सड्क खन्ने काम भएतापनि बाह्रैमास यातायात सुचारु हुने सम्भावना छैन ।

सम्भावना छन् , तर पुर्वाधार छैनन्
विकासविदहरु हाल समस्याले घेरिएका यि गाउँमा विकासको प्रशस्त सम्भावना रहेको बताउछन । तर ति सम्भावनालाई प्रयोगमा ल्याउन नसकिएको उनको भनाई छ । नगरभित्रका यि गाउँ बजार संग नजिकै रहेकोले पर्यटनको प्रशस्त सम्भावना बोकेको उनीहरmको भनाई छ । जिल्लाका पर्यटन तथा संस्कृतिविद गोविन्द आचार्यले पहाडी क्षेत्र विकट आफैमा विकट नभई ति स्थानलाई विकट बनाइएको बताए । विकासको प्रशस्त सम्भावना हुँदा हुँदै पनि राज्यले ध्यान दिन नसकेको उनको भनाई छ । ‘ नगरपालिका र उपमहानगरपालिका भित्र पहाडी क्षेत्रका अवस्थित ग्रामिण भेकको विकास भएको देखिदैन । यद्यपी ति यतिक्कै अविकसित भएका हैनन् । त्यहाँ पशस्त सम्भावना छ । ’ उनले भने ‘ घोराहीको सवारीकोट , तुलसीपुरको थरकोट लगायतका स्थानमा हामिले ‘हिलस्टेशन’ स्थापना गनर्का लागि हामिले स्थानीय तह संग छलफल गरेको पनि हो तर कसैका ध्यान जाँदैन । सम्भावना छ तर राज्यले कमसेकम पुर्वाधारको विकास त गर्नुपर्यो नि ।’

3

विकट क्षेत्र प्राथमिकतामा : स्थानीय जनप्रतिनिधि
स्थानीय तहका जनप्रतिनिधिले नगर भित्रका विकट क्षेत्रका विकासका लागि प्राथमिकतामा रहेको बताएका छन् । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपमहानगरपालिका भित्रका विकट क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका क्रियाकलाप अगाडी बढाईरहेको दाबि गरे । आधारभुत पुर्वाधारका रुपमा सडकलाई राखेर यि गाउँलाई सड्क सञ्जाल संग जोड्ने अन्तिम तयारीमा रहेको उनले बताए । ‘ सडकलाई विकासको आधारभुत पुर्वाधारका रुपमा राखेर अगाडी बढेका छौं । ’ उनले भने ‘ सर्वप्रथम सबै गाउँलाई सड्क सँग जोड्ने तयारी छ ।

त्यसपद्धि पर्यटन प्रवद्र्धनका अन्य गतिविधि अगाडी बढाईनेछ । ’ यस्तै तुलसीपुर उमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि विकट क्षेत्रको विकासलाई ध्यानमा राखेर स्थानीय आवश्यकता बमोजिमको विकासका क्रियाकलापलाई अगाडी बढाएको बताए । ‘ पुर्वाधारको विकास मात्र हैन ।स्थानीयलाई आम्दानीको स्रोत बनाईदिनका लागि स्थान विशेष उत्पादकीय क्षमताको पनि मुल्याँकन गरिरहेका छौं । उनले भने ‘ तर हामिले चाहेर मात्र हुँदैन । धेरै स्थान र ठुलो लगानी आवश्यक पर्ने भएकाले केन्द्र सरकारको पनि ध्यान जान आवश्यक छ । ’