काठमाडौं, ६ चैत । महिना दिनभित्र सप्तरीमा करणीका नौ घटना भएका छन् । घटनामा संलग्नहरू परिवारका सदस्य, छिमेकी र गाडीका चालकदेखि सहचालकसम्म रहेका छन् ।

balatkar1पछिल्लोपटक गत शुक्रबार माइक्रोबसमा लिफ्ट मागेकी एक युवतीलाई गाडीकै चालक र सहचालकले सामुहिक रूपमा करणी गरेका छन् । छिन्नमस्ताबाट काठमाडौं चल्ने बा५प ३१४१ को माइक्रोबसभित्रै १७ वर्षीया युवतीलाई सिरहाको भगवानपुर–९ घर भएका चालक वैजनाथ दास र बाँकेको राप्ती सोनारी–५ का सहचालक खेमराज वैश्यले गाडीभित्रै करणी गरेका थिए ।

करणीका आरोपी दुवै जना अहिले सप्तरी प्रहरीको नियन्त्रणमा छन् । यसअघि गत शनिबार राति शम्भुनाथ नगरपालिका–३ कचन्दाहामा १८ वर्षीया युवतीमाथि पाँच जनाले सामूहिक करणी गरेका थिए । राजधानीमा खबर छ- सामूहिक करणी गरेको आरोपमा पक्राउ परेका सबै पीडित युवतीकै छिमेकी हुन् । गत शुक्रबार पनि सप्तरीको विष्णुपुर गाउँपालिका–७ घर भएकी २६ वर्षीया महिलालाई गाउँकै दुई जनाले सामूहिक करणी गरेका थिए ।

यस्तै, गत २ फागुनमा खडक नगरपालिका–९ घर भएकी ११ वर्षिया बालिकालाई आफ्नै काकाको छोराले घरमै करणी गरी हत्या गरेका थिए । सो घटनाका आरोपी १९ वर्षीय राजदेव मण्डल पनि हाल प्रहरी नियन्त्रणमा छन् । त्यस्तै, ३ फागुनमा छिन्नमस्ता गाउँपालिकाकी दुई वर्षिया बालिका छिमेकीबाटै करणीको सिकार भइन् भने आरोपी १२ वर्षीय बालक पनि प्रहरी नियन्त्रणमा छन् ।

यसैगरी, ४ फागुनमा तिलाठी काइलाडी गाउँपालिका–७ मन्सापुरकी ११ वर्षीया बालिकामाथि करणी भएको थियो । सो घटनाका आरोपी घटना भएको भोलिपल्टै प्रहरीले नियन्त्रणमा लिएको थियो । चालू आर्थिक वर्षमा हालसम्ममा जिल्लामा करणी र करणी प्रयास गरी २१ घटना भएका छन् करणी प्रयासका ९ घटना छन् ।

करणी अभियोगमा हालसम्म जिल्ला प्रहरी कार्यालयले १८ आरोपीलाई पक्राउ गरिसकेको छ भने अन्यको खोजी भइरहेको बताइएको छ । प्रहरीका अनुसार अधिकांश करणीका घटना छिमेकी र आफन्तबाटै भएका छन् ।

जिल्लामा बढ्दो करणीका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले सामुदायिक चेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा लैंगिक हिंसाविरुद्ध महिला सञ्जालको माध्यमबाट जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।