काठमाडौं २९ फागुन । नेकपा (क्रान्तिकारी–माओवादी) का अध्यक्ष मोहन बैद्यले उद्घाटन गरेको एउटा प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। क्रान्तिकारी–माओवादी सम्बद्ध क्रान्तिकारी युवा लिग नेपालको प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

get_img (1)मकवानपुरको गुम्बाडाँडास्थित हर्नामाडी कला प्रतिष्ठानमा बैद्यले २८ फागुनमा सो प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका थिए। लिगको प्रदेश–३ कमिटीको आयोजनामा त्यहाँ ३ दर्जन युवाहरुलाई बैचारिक तथा शारीरिक प्रशिक्षण दिइँदै थियो।

हिजोदेखि सुरु भएको कार्यक्रममा आजै विहानैदेखि लाठीसहितको तालिम चलिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विकासराज खनालसहितको टोली गुम्बाडाँडा पुगेको थियो।

प्रशिक्षणस्थल पुगेका एसपी खनालले लाठीसहितको तालिम गर्दा स्थानीयवासीमा त्रास र आतंक सिर्जना हुने भन्दै त्यसो नगर्न नेताहरुलाई आग्रह गरेका थिए। उद्घाटन सकेर हिँडेपनि दिनेश शर्मा, हस्तबहादुर केसी लगायतका नेता थिए। त्यसक्रममा प्रहरी सहायक निरीक्षक बिनश चौधरी नेतृत्वको टोलीले उनीहरुको बासस्थानमा छापा मारेको थियो, जहाँ शारीरिक प्रशिक्षणका लागि केही लठ्ठी भेटिएका थिए। ती लठ्ठी प्रहरीले बरामद गरेको छ।

खनालले जनजीवन आतंकित नहुने गरी कार्यक्रम गर्न आफूले सम्झाई बुझाई गरेको बताए। खनालले भने, ‘लठ्ठी सहितको परेडले जनजीवन आतंकित हुनसक्छm। हामीले त्यसो नगर्न आग्रह गरेका हौं।’

खनालका अनुसार, झण्डै तीन दर्जन युवाहरु सो कार्यक्रममा बैचारिक तथा शारीरिक प्रशिक्षण लिइरहेका छन्। त्यसमध्ये शारीरिक प्रशिक्षणका लागि प्रयोग गरिएको २० लठ्ठी बरामद गरिएको उनले बताए।

उहाँहरुले शान्तिपूर्ण कार्यक्रम गर्न पाउनुहुन्छ, तर जनजीवन आतंकित पार्ने गरी तालिम र परेड गर्ने छुट कसैलाई छैन’ खनालले भने, ‘लठ्ठी हामीले बरामद गरेका छौं, परेड बाहेक उहाँहरुको कार्यक्रम भने जारी रहन्छ।’ नेपाल खबरबाट