काठमाडौँ, २३ फागुन । ‘मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ’ डा भोला रिजालले लेख्नुभएको यस गीतमा चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले स्वर दिनु भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधनको सुरुमै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशमा संकटकै स्थिति रहेको आफूलाई आभास भएर राष्ट्रभावबाट ओतप्रोत यही गीतको दुई हरफ प्रस्तुत गरेको सुनाउनुभयो ।
मुलुकलाई सधैँ अन्योलमा राखिएको र राजनीतिक खिचातानी मात्रै गरिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको भन्दै नेता नेपालले भावपूर्ण शैलीमा भन्नुभयो, ‘अझै पनि देश डुब्न दिने हो भने हामी सबै डुब्छांै । कोही पनि बच्दैनौ ।’
नेता नेपालले भ्रष्टाचारको जालो तलदेखि माथिसम्म फैलिएकाले विकास निर्माणको काम समेत प्रभावित हुने गरेको तथा जनताले लामो समयसम्म कष्ट भोग्नु परेको गुनासो पोख्नुभयो ।
राजनीतिक स्थिरताको अभावमा मुलुकले आर्थिक समृद्धिको दिशा लिन नसकेको, रोजगारीको खोजीमा लाखौं युवा विदेशी भूमिमा भौतारिइरहनु परेको, एकाध वर्षमा सकिने विकास निर्माणको काममा वर्षौं लाग्ने गरेको, कोही कसैले पनि जिम्मेवारी नलिने प्रवृत्ति हावी भएको भन्दै वर्तमान सरकारले यी सबै अव्यवस्था हटाउनैपर्ने बताउनुभयो ।
नेता नेपालले अझै अगाडि बढेर अर्को गीत पनि प्रतिनिधिसभा बैठकमा सुनाउनुभयो । गायक शिशिर योगीको स्वर, डा विश्वनाथ बरालको रचना रहेको ‘म एउटा मानिस खोजिरहेको छु’ भन्ने गीत सुनाउँदा प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद एकाग्र मात्रै बन्नुभएन देशमा मौलाएको अराजकता र दण्डहीनताको अन्त्यका विषयमा सोचमग्न बन्नुभएको थियो ।
नेता नेपालले विकास निर्माणको काममा संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले अनावश्यक हस्तक्षेप गर्ने गरेको विगतको तितो अनुभव समेत सुनाउनुभयो ।
भ्रष्टाचारको जालो तोडेर, कानुनी एवम् प्रशासनिक संरचनामा परिवर्तन तथा विकास निर्माणमा काम भएको छ कि छैन भन्ने हेर्न अनुगमन संयन्त्र बनाउन वर्तमान सरकार क्रियाशील हुनैपर्ने नेता नेपालको सुझाव थियो ।
राष्ट्र निर्माणका लागि सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने भएपनि विगतमा त्यस्तो नभएको, चासो व्यक्त गर्ने निकायले भन्दा अरुले बढ्ता चासो राख्ने गरेको र विकास निर्माणमा समेत अनावश्यक चलखेल भएको भन्दै उहाँले अब त्यस्तो छुट कोही कसैलाई पनि नहुने बताउनुभयो ।
नेता नेपालले पटक पटक भ्रष्टाचारको प्रसंग जोड्दै मुलुक अगाडि बढ्न नसक्नुको मुख्य कारण भनेकै जिम्मेवारी लिएका व्यक्ति, नीति नियमको अवरोध तथा प्रशासनिक दक्षताको अभाव हो भन्नुभयो ।
अर्का पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भ्रष्टाचार, अनियमितता र कुसंस्कारका कारण मुलुकले गति लिन नसकेको बताउनुभयो ।
‘कानुनी शासनमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेमाथि दण्डको व्यवस्था हुन्छ,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘हाम्रोमा काम गर्ने गरेको ग¥यै, नगर्ने पुरस्कृत भएको भयै हुने प्रवृत्ति मौलायो । अब कोही कसैलाई पनि त्यस्तो छुट दिन सकिँदैन ।’
विगतमा पद प्राप्तिका लागि जस्तोसुकै काम गर्ने प्रवृत्ति मौलाएको, जनताका समस्या दिनहुँ बढ्दै गएको, रोजगारीको खोजीमा लाखौं युवा खाडी मुलुकमा पुगेका र त्यहाँ मृत्यु भएकालाई समेत स्वदेश ल्याउन नसकिएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष दाहालले स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान सरकारले ठोस काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भ्रष्टाचारको जरो नउखेल्दासम्म आर्थिक समृद्धि र विकासको चाहना पूरा नहुने भन्दै पूर्व प्रधानमन्त्री दाहालले इमान्दार भएर काम गर्ने हो भने एकाध वर्षमा मुलुकको कायापलट हुने आत्मविश्वास आफूहरुसँग रहेको बताउनुभयो ।
सोही बैठकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक कार्यभार पूरा भएको भन्दै अब आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडि बढ्नुपर्छ भन्नुभयो ।
‘विगतमा चुनाव हुँदैन कि भन्ने संशय फैलाइएको थियो । त्यो संशय पनि हट्यो, नयाँ सरकार गठन भएको छ । सरकारको सकारात्मक कामको समर्थन र गलत कामको विरोध गरेर रचनात्मक प्रतिपक्षको भूमिका हामी निर्वाह गर्दछांै,’ सभापति देउवाले भन्नुभयो ।
नेपालको राजनीतिक परिवर्तनको महत्वपूर्ण घडीमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका सभापति देउवाले भन्नुभयो, ‘२००७ सालको परिवर्तन, २०४६ सालको जनआन्दोलन, २०६२÷६३ को जनआन्दोलन, संविधान लेखन कार्य काँग्रेसकै नेतृत्वमा भएका छन् । संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारको रुपमा रहेको निर्वाचन समेत काँग्रेसले सम्पन्न गरेको छ ।’
मंगलबारको बैठकमा तीन पूर्व प्रधानमन्त्रीले सुशासनको स्थापना र सबै किसिमका अनियमितताको अन्त्य गर्दै आर्थिक समृद्धिमा लाग्न हातेमालो गरेर अगाडि बढ्ने विषयलाई केन्द्रबिन्दुमा राखेर आफ्नो भनाइ राख्नु भएको थियो ।
राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषयलाई आफ्नो संवोधनको प्रमुख विषय बनाउनुभयो । रासस











