इन्द्रेणी संवाददाता
कैलाली, २२ फागुन । प्रदेश नम्वर ७ अर्थात साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा वसोवास गर्ने आधा जनता गरिवीको रोखामुनी रहेको एक तथ्याङ्क देखाएको छ । यहाँका १० लाख ६० हजार ७ सय ४८ जनता गरिबीको रेखामुनि रहेका छन् ।

pardes 7नेपालको कुल क्षेत्रफलको १३ दशमलव २७ प्रतिशत अर्थात १९ हजार पाँचसय ३९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको  यो प्रदेशमा नेपालको जनगणना २०६८ का अनुसार २५ लाख ५२ हजार ५ सय १७ मध्ये झण्डै आधा जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको हो ।

कैलालीमा सबैभन्दा बढी २ लाख ५६ हजार ८ सय ३१ तथा सबैभन्दा कम डडेल्धुरामा ६० हजार ९ सय व्यक्ति गरिबीको रेखामुनि रहेको नेपाल मानवअधिकार वर्ष पुस्तक, २०१८ ले देखाएको छ । सन २०१७ मा बाजुरामा ८५ हजार ८ सय ६७, बझाङमा १ लाख १० हजार ४ सय ६५, दार्चुलामा ७० हजार तीन, बैतडीमा १ लाख १४ हजार तीनसय ५५, डोटीमा १ लाख १ हजार, अछाममा १ लाख २० हजार ९ सय ३१ तथा कञ्चनपुरमा १ लाख ४० हजार तीनसय ८१ व्यक्ति गरिबीको रेखामुनि रहेको मानवअधिकार आयोगको तथ्याङ्क छ ।

अन्य प्रदेशभन्दा गरिबी र रोजगारीको सबैभन्दा कम अवसर यसै प्रदेशमा देखिएकाले रोजगारीको खोजीमा वर्षेनि बाहिरिनेको सङ्ख्या बढ्दै गएको पाइएको हो । श्रम कार्यालय सेतीका अनुसार एक वर्षको अवधिमा सेती अञ्चलमा मात्रै आफू बेरोजगार भएको भन्दै १२ हजारले नाम टिपाएको तथ्याङ्क छ । दक्ष, अर्धदक्ष र अदक्ष गरी उक्त सङ्ख्यामा बेरोजगारी लगत संकलन भएको श्रम कार्यालय सेती अञ्चल धनगढीको भनाइ छ ।

सन् २०१७ मा बाजुराबाट रोजगारीको खोजीमा बाहिरिनेको सङ्ख्या ८ हजार ५४, बझाङबाट २२ हजार ८ सय ४५, दार्चुलाबाट ६ हजार ८ सय ६४, वैतडीबाट २१ हजार ३९, डडेल्धुराबाट ११ हजार ६ सय ७०, डोटीबाट ३ हजार ५ सय ४४, अछामबाट ३१ हजार १५, कैलालीबाट ६२ हजार ६ सय ४४ तथा कञ्चनपुरबाट ३८ हजार ३ सय ९८ व्यक्ति गरी कुल २ लाख १८ हजार १९ रहेको मानवअधिकारको तथ्याङ्कले देखाएको छ । यस प्रदेशमा प्रतिव्यक्ति आय ६ सय ८५ अमेरिकी डलर रहेको छ ।