काठमाडौँ, २२ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न निषेध गर्ने बताएका छन् ।
मंगलवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सरकारले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बताए । “वैशाखदेखि हरियो स्टिकर लगाएका जुनसुकै सवारी साधनलाई जुनसुकै समयमा जाँच गर्छाँंै, प्रदूषणमा फेल भए सवारी धनी र स्टिकर दिने कर्मचारीलाई समेत कारवाही गर्छौं”, उनले भने ।
मन्त्री पण्डितले उपत्यकामा प्रदूषण गर्ने सम्बन्धित निकायसँग छलफल गरिसकिएको बताउँदै आगामी एक वर्षभित्र काठमाडौँमा मास्क नलगाई हिँड्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताए । धुवाँ, धुलो, गिटी, बालुवालगायतलाई निश्चित मापदण्डमा ल्याउन सकिए प्रदूषणमा कमी ल्याउन सकिने उनको भनाइ थियो ।











