इन्द्रेणी संवाददाता 

काठमाण्डौ २१ फाल्गुन । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको पहिलो बैठक आज (सोमबार) बस्दै छ । संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यसवेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्दै छ । सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन अवधिभरको जुनकुनै बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने र त्यसवेला मात्रै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने बताए ।

‘विशेष समयमा वा सरकारको नीति तथा कार्यक्रम पेस हुने वेलामा मात्रै राष्ट्रपति संसद्मा आउनु हुने प्रचलन छ । सोमबार अपराह्न ४ बजे दुवै सदनको बैठक सम्बन्धित सदनको हलमा बस्नेछ । पहिलो बैठकमा अधिवेशन आह्वान भएको जानकारीसहितको राष्ट्रपतिबाट प्राप्त पत्र भने पढेर सुनाइने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्नेछ भने सभामुखको निर्वाचन मिति घोषणा गर्नेछ ।