काठमाडौं – नेकपा एमालेको टिकटमा ललितपुर १ बाट निर्वाचित नवराज सिलवालले प्रतिनिधिसभा सदस्यको सपथ लिन पाउने भएका छन्। पूर्व डीआईजी समेत रहेका सिलवालमाथि आइजीपी बढुवासम्बन्धी कागजात कीर्तेमा मुद्दा चलिरहेको छ। उनीविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी भइसकेको छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार तोकिएको संघीय संसदको प्रथम अधिवेशनबाट प्रतिनिधिसभा सदस्यहरुको सपथ हुँदैछ। सो कार्यक्रममा सिलवालसँगै टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीले पनि सपथ लिनसक्ने संसद् सचिवालयले जनाएको छ। टीकापुर घटनालगत्तै फरार रहेका चौधरी अहिले प्रहरी हिरासतमा छन्।

nabaraj sijawal ramesh chaudhari

मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वारेसनामार्फत उम्मेदवारी दर्ता गराई कैलाली १ बाट भारी मतले निर्वाचित चौधरीले केही दिनअघि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। अदालतको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन्।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले फौजदारी मुद्दा लागेका चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका सिलवालको सम्बन्धमा कुनै निकायबाट लिखित रुपमा केही जानकारी नआएकाले उनीहरू उपस्थित भएर शपथ लिन सक्ने जानकारी दिए। ‘उहाँ (सिलवाल र चौधरी)को बारेमा हामीलाई कुनै निकायले सपथ रोक्नेगरी केही जानकारी गराएको छैन,’ उनले भने– ‘तोकिएको समयमा संसदमा उपस्थित हुनुभयो भने सपथ हुन्छ।’

यता एमालेबाट निर्वाचित सिलवाल शनिबार एमाले–माओवादी केन्द्रले आयोजना गरेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन्। उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट प्रशिक्षण लिए। नागरिक न्युजमा खबर छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा सम्पर्कविहिन भएका सिलवाल ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक भएका थिए। उनी ओलीलाई बधाई दिन बालुवाटार समेत पुगेका थिए।

add