काठमाडौं, १९ फागुन । हुम्लाको ताजाकोट गाउँपालिका १ काँडाजिमाना शुक्रबार राति आगलागी हुँदा २८ घर जलेका छन्। आगलागीबाट करीब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। घटनास्थल हुम्ला सदरमुकाम सिमकोटबाट चार दिन पैदलको दुरीमा रहेकाले जानकारी ढिलो गरी प्राप्त भएको हो । आगलागीमा स्थानीयका घरगोठ लजेका हुन ।

राती १० बजेर ४३ मिनेटमा स्थानीय हरिबहादुुर रिठालको गोठबाट फैलिएको आगोले पशुवस्तु, अन्नपात, लत्ता कपडा, भाँडाकुँडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले बताए। ‘आगलागीबाट २८ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। १ सय ५० बाख्रा र ६ वटा अन्य जनावर पनि जलेर मरेका छन्,’ उनले जानकारी दिए। आगो बिहान ३ बजेतिर नियन्त्रण आएको थियो।
हुम्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने सो ठाउँँमा हिउँदयाममा पशुबस्तु पाल्नकै लागि काँडा जिमानाका बासिन्दा त्यहाँ बस्दै आएका थिए। आगलागीबाट मानवीय क्षति नभए पनि पशुसहित धनमाल क्षति हुँदा पीडितको बिचल्ली भएको स्थानीय जगतबहादुर शाहीले बताए।
यसैबीच, आगलागी पीडितहरुलाई प्रदेश सरकारको समन्वयमा गृह मन्त्रालयबाट उपलब्ध गराइएको राहत वितरण गरिएको छ। कर्णाली प्रदेशका मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घटना स्थलमै गएर शनिबार राहत वितरण गरेका हुन्। एभरेष्ट दैनिकमा खबर छ ।
आगलागी पीडित २८ घरधुरीका परिवारलाई खाद्यान्न, टेन्ट, कम्बल र भाँडाकुुँडा वितरण गरिएको थियो। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, हुुम्ला जिल्लाका प्रतिनिधिसभाका सांसद छक्कबहादुुर लामा पनि आगलागी स्थलमा पुगेका थिए।











