महोत्तरी, १९ फागुन । होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा गौशाला र वलवामा तीन जना घाइते भएका छन् । प्रहरीले कुटपीटमा संलग्न भएको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीकाअनुसार गौशाला नगरपालिका ९ स्थित विसहरपुरमा शुक्रबार अपराह्न होली खेल्ने छुट्टाछुट्टै समूहबीच कुटपीट हुँदा ५० वर्षीय गुनार सदा र उनका २० वर्षीय छोरा अरविन्द घाइते भएका हुन् । टाउको र निधारमा चोट लागेको उनीहरुको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले झडपमा संलग्न आरोपमा स्थानीय अमरसिंह दनुवारलाई नियन्त्रणमा लिएको जनाए । वडाध्यक्ष महेशप्रसाद सिंहले घटनास्थलबाट जनाएअनुसार सामान्य भनाभनबाट सुरु भएको विवाद भाङ र मदिरा सेवन गरेका केही व्यक्तिका कारण झडपमा परिणत भएको हो । घटनालगत्तै प्रहरी पुगेपछि अहिले गाउँको अवस्था सामान्य छ ।
त्यस्तै वलवा नगरपालिका ५ स्थित हिरदुवामा होली खेल्ने अलगअलग समूहबीच झडप हुँदा ३७ वर्षीय मंगलु महतो घाइते छन् । टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
साँझ पर्दै जाँदा अन्य ठाउँमा समेत विवाद चर्कने संभावनाका कारण सुरक्षा गस्ती र निगरानी बढाइनुका साथै आफू मातहतका सुरक्षा युनिटलाई सतर्क अवस्थामा राखिएको सशस्त्र र नेपाल प्रहरीका एसपीद्वय मुरारी बस्नेत र कुवेर कडायत बताएका छन् । ती स्थानबाहेक होली हर्षोल्लासकासाथ मनाइँदै छ । कान्तिपुरबाट
