काठमाडौँ, १५ फागुन । म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर।।। । यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो । ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टि सर्ट र नीलो ट्रयाकसुटमा युवा÷युवतीले आफ्नो कला प्रदर्शन शुरु गरेँ । ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्द मुस्कानले युवा युवतीका नाचको कलालाई साथ दिइरहे ।

kpoliराष्ट्रिय सेवा दलको १३ औँ वरिष्ठ समूहको अन्तिम दीक्षान्त कवाज कार्यक्रमका सहभागीले बुधवार ललितपुरमा सो गीत गुञ्जिरहँदा नाचकलाको जोसिलो प्रदर्शन गरेका थिए । उसो त ओलीले पहिलो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुँदा सो गीतको रचना गरी दललाई दिएका थिए ।

विसं २०२२ मा स्थापना भएको सो दलले १३ औँ दीक्षान्तमा प्रधानमन्त्री एवं गीतकार ओलीका गीतलाई संगीतमा रुपान्तरण गर्दा तालीमका सहभागीले आकर्षक कला प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै देशको आर्थिक समृद्धि र विकासमा सबै क्षेत्रबाट उठ्न आह्वान गरे । उनले भने “मेरो नेतृत्वको वर्तमान सरकारको प्रमुख लक्ष्य आर्थिक समृद्धि गरी देश विकास गर्नु हो, सरकारले सदाचारको विधि अपनाउँछ ।”

सबै युवालाई शिक्षित बनाई देश विकासको मूल प्रवाहमा समाहित गराउन सरकारले काम गर्ने चर्चा गर्दै प्रधानमन्त्री ओलीले युवाको योगदानबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

राष्ट्रिय एकता र भावनाले ओतप्रेत भई उच्च मनोबलका साथ आफ्ना उद्देश्य र सपना पूरा गर्न तालीमका सहभागीलाई आह्वान गर्दै प्रधानमन्त्री ओलीले युवालाई हारेर होइन, जितेर काम गर्न आग्रह गरे । रासस