धनगढी, १५ फागुन । टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोप लागेर फरार रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले सोमबार पुर्पक्षका लागि कैलाली कारागार चलान गरेको छ ।

Reshyam chaudharyसोमबार बिहान चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । आफ्ना पार्टीका कार्यकर्तालाई समेत जानकारी नगराई आएका रेसम अदालतमा झुल्केपछि मात्रै उनीबारे सबैलाई थाहा भएको थियो ।

बिहान साढे १० बजे नै रेसम चौधरी आउने सुइँको पाएपछि जिल्ला अदालतमा प्रहरीले बाहिरबाटै प्रक्राउ गर्ने योजना बनाएको थियो। तर प्रहरीलाई छक्याउँदै चौधरी आफैँ मोटरसाइकल चलाएर अदालतमा झुल्किएका थिए ।

अदालतमा चार घण्टा बयान

रेसम चौधरीले अदालतमा आएपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले सोमबार चार घण्टा लामो बयान उनीसँग लिएको थियो ।

बयानका क्रममा रेशमले टीकापुर घटनाका बेला आफू टीकापुरमा नरहेको दाबी गरेका थिए । त्यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको बयान गरेका अदालत स्रोतले जनाएको छ ।

चार घण्टा लामो बयानपछि रेशमका तर्फबाट चारजना अधिवक्ताहरुले उनलाई साधारण तारेखमा छोड्न अपिल गरेका थिए । रेसम चौधरीको तर्फबाट कैलाली बार ईकाईका पूर्व अध्यक्ष गंगाराम पाध्याय, गजेन्द्र केसी, नाथुराम महतो र मिलन राईले बहस गरेका थिए ।

चारैजनाले रेसम टीकापुर घटनाको मुख्य योजनाकार नरहेको जिकिर गर्दै घटना भएको दिन रेसम टीकापुरमा पनि नरहेकाले साधारण तारेखमा छोड्न माग दाबी गरेका थिए ।

रेशमको पक्षका अधिवक्ताहरुले भारी मतान्तरले प्रतिनिधि सभा सदस्यमा जितेका रेसम सांसद भइसकेकाले पनि अदालतले साधारण तारेखमा छोड्न दलिल पेस गरेका थिए ।