इन्द्रेणी संवाददाता
दाङ, १४ फागुन । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले मुलुक संघीयता कार्यान्वयनमा लागेको र अब स्थानीय तहमै सञ्चार नीति निर्माण हुने भन्दै पत्रकार महासंघसँग समन्वय गरेर मात्रै सञ्चार नीति बनाउनस्थानीय निकायहरुलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ दाङशाखाले आज दाङको घोराहीमा आयोजना गरेको ‘संघीय संरचनामा मिडियाको भूमिका र मर्यादित पत्रकारिताको सवाल’ विषयक अन्तक्र्रियामा उपाध्यक्ष पोख्रेलले आम सञ्चारको नीतिसँग वाझिने र पत्रकार महासंघको समन्वय र सहमतिमा बनेका कुनै पनि सञ्चार नीति कार्यान्वयन नहुँने बताए । ‘नेपाल पत्रकार महासंघ पत्रकारहरुको छाता संगठन हो, आफू खुसी स्थानीय निकायमा सञ्चार नीति बनाइयो भने त्यो कुनै हालतमा हामी कार्यात्वयन हुन दिने छैनौं’, उनले भने, ‘कसैले झुक्याएर नीति निर्माणमा सहभागी बनाउन खोज्यो भने पनि त्यसमा पत्रकार सहभागी नहुनुहोस् ।’
उपाध्यक्ष पोख्रेलले पत्रकार महासंघले नै आम सञ्चार नीतिसँग नवाझिने गरी आम सञ्चार नीति बनाउन लागेको जानकारी दिदै त्यसको ड्राफट केन्द्रीय, प्रदेश र स्थानीय सरकारलाई वुझाउने बताए । उनले महासंघ त्यसको गृहकार्य गरिरहेकाले सञ्चार नीति बनाउन हतार नगर्न स्थानीय निकायहरुलाई आग्रह गरे ।
उनले पत्रकारहरुमाथि पछिल्लो समयमा विभिन्न लान्छना लाग्ने गरेको भन्दै आफ्नो कर्ताव्यनिष्ठ, जिम्मेवारी पूर्वक र आचारसंहितामा रहेर पत्रकारिताको धर्म निर्वाह गर्न सबै पत्रकारलाई अनुरोध गरे । साथै उनले पत्रकार महासंघका सदस्यहरु कति सही र कति गलत भन्ने विषयमा महासंघले नै छानविन गर्ने भन्दै अनावश्यक रुपमा लान्छना लगाउने अधिकार नभएको बताए ।
कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्माले दाङको पत्रकारितामा केही समस्या देखिएको र खुलेआम केही तत्वले पत्रकारलाई घुस दिएका हौं भन्ने जस्ता हर्कत देखाएको भन्दै घुस दिने र लिनेलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
कार्यक्रमका अध्यक्ष पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले यही महिनाभित्र पत्रकार महासंघ पत्रकार शुद्धिकरणलगायतका विभिन्न योजना बनाएर अघि वढ्ने जानकारी दिए । कार्यक्रममा महासंघका सल्लाहकार केवि मसाल, सुदीप गौतम, सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, शरद अधिकारीलगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।
