इन्द्रेणी संवाददाता
काठमाडौं १२ फाल्गुन । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा पुर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ जिम्मेवारी दिने योजना बनाएको माओवादी नेकट श्रोताले जानकारी दिएको छ ।
जनयुद्ध देखि शान्ति प्रक्रिया सम्मका प्रचण्डका विश्वास पात्रको रुपमा हेरिएका महराको नयाँ मन्त्रीमण्डलमा खासै चर्चा नआएपनि आफ्नो कोटामा परेको प्रतिनिधि सभाको सभामुखमा शालीन तथा भद्र नेता महरालाई बनाउने योजना भएको श्रोतको दावी छ ।
बुधबारको सचिवालय बैठकमा समेत ‘महराजीलाई भावी सभामुख’ भन्दै नेताहरुले बधाई दिएको एक नेताले बताए। सभामुखमा ओनसरी घर्ती दोहोरीने चर्चा समेत थियो। तर दाहालले महरालाई सभामुखमा पठाउने चाहना गरेपछि त्यो सम्भावना टरेको एक नेताले बताए। गृहमन्त्रालयमा रोल्पाकै वर्षमान पुनलाई प्रस्ताव गरेर महराले सभामुख सुरक्षित गरेको समेत माओवादी स्रोतको भनाई छ। ‘अन्य नेताहरुले गृहको अपेक्षा गरेको समयमा महराले पुनलाई प्रस्ताव गरेर आफुलाई सभामुखमा सुरक्षित गरेको देखिएको छ’, एक नेताले भने, ‘सबैलाई मान्य हुने अनुहार भएकोले सम्भवत पार्टीमा उहाँकै नाममा सहमति हुन्छ।’
महराले यस अघिका सरकारमा माओवादीको नेतृत्व गरेर उपप्रधान तथा अर्थ, गृह, परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन्।