इन्द्रेणी संवाददाता
दाङ, १२ फागुन । दाङमा आजदेखि तीन दिनसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदिैछ । आज जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएका स्वास्थ्यकर्मी र स्वयमसेवहरुले जनिकको स्वास्थ्य केन्द्रमा औषधि खुवाउने छन् भने भोलि र पर्सी घरघरमा पुगेर औषधि खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोख्रेलले जानकारी दिए ।
आठौं चरणमा शुरु भएको हात्तीपाइले रोगविरुद्धको अभियान फागुन १२, १३ र १४ गते चल्ने छ । जसका लागि दाङमा दुई हजार चार सय स्वयमसेवक र तीन सय ५७ जना स्वास्थ्यकर्मी खटाइएको छ ।
जिल्लामा अभियान शुरु भएको पहिलो चरणको सर्भेमा करीव ३० प्रतिशतमा हात्तीपाइलेको संक्रमण भएको पाइएको थियो भने अभियान सञ्चालन भएको ६ वर्षको सर्भेमा त्यो तथ्याङ घटेर १२ प्रतिशत भएको पाइएको थियो ।
साथै केही महिना पहिलेमात्रै भएको सर्भेमा ६ प्रतिशत अझै रोग निवारण हुँना बाँकी रहेको देखिएको थियो । विश्वस्वास्थ्य संगठनका अनुसार कुनै पनि ठाउँमा २ प्रतिशतभन्दा कम रोग देखिएमा त्यसलाई हात्तीपाइले रोग निवारण भएको मानिन्छ । यो औषधि २ उमेर पुगेका व्यक्तिहरुले सेवन गर्न सकिन्छ भने गर्ववती महिला तथा दिर्घ रोगीले सेवन गर्न हुँदैन ।