इन्द्रेणी संवाददाता
दाङ, ९ फागुन । दाङमा आठौं चरणमा हात्तीपाइले रोगविरुद्धको अभियान शुरु हुदैछ । जिल्लामा हात्तीलाई रोग पूर्णरुपमा निरमुल नभएकाले आठौं चरणको हात्तीपाइले निवारणको अभियान सञ्चालन भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
कार्यालयले बुधवार घोराहीमा पत्रकारहरुसँग अभिमुखिकरण कार्यक्रम गर्दै यही फागुन १२, १३ र १४ गते जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने जनाएको छ । पहिलो दिन १२ गते स्वास्थ्यकर्मी र स्वयमसेवकहरुले विभिन्न स्वास्थ्य केन्द्रमा औषधि खुवाउने र १३ र १४ गते घरघरमा गएर औषधि खुवाउने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल प्रसन कमल चन्दले बताए ।
सो कार्यक्रमका लागि दुई हजार चार सय स्वयमसेवक र तीन सय ५७ जना स्वास्थ्यकर्मी खटाइने जनस्वास्थ्य अधिकृत घनश्याम पोख्रेलले बताए । ६ वर्षका लागि सञ्चालन हुने उक्त अभियान दाङमा हात्तीपाइले रोग निवारण नभएकाले दुई वर्ष फेरि थप गरिएको हो ।
जिल्लामा अभियान शुरु भएको पहिलो चरणको सर्भेमा करीव ३० प्रतिशतमा हात्तीपाइलेको संक्रमण भएको पाइएको थियो भने अभियान सञ्चालन भएको ६ वर्षको सर्भेमा त्यो तथ्याङ घटेर १२ प्रतिशत भएको पाइएको थियो । साथै केही महिना पहिलेमात्रै भएको सर्भेमा ६ प्रतिशत अझै रोग निवारण हुँना बाँकी रहेको देखिएको थियो । विश्वस्वास्थ्य संगठनका अनुसार कुनै पनि ठाउँमा २ प्रतिशतभन्दा कम रोग देखिएमा त्यसलाई हात्तीपाइले रोग निवारण भएको मानिन्छ ।
यो चरणको अभियानअन्गर्तत बुधवार नै औषधि जिल्लामा आइसकेको र विहीबार जिल्लाका सबै स्वास्थ्य चौकीमा औषधि पुग्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ । यो औषधि २ उमेर पुगेका व्यक्तिहरुले सेवन गर्न सकिन्छ भने गर्ववती महिला तथा दिर्घ रोगीले सेवन गर्न हुँदैन ।
