काठमाडौं– नेपाली काँग्रेसका नेताहरुले केन्द्रीय समितिको बैठकमा पार्टी विधान विपरित सञ्चालन भएको भन्दै सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । बिहीबारको लागि बोलाइएको बैठकमा नेपाली कांग्रेस गुटभन्दा बढी गिरोह प्रवृत्तिबाट सञ्चालित भएको भन्दै आपत्ति जनाएका हुन् । मूलतः राष्ट्रियसभाको निर्वाचनको तयारीका लागि डाकिएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको समुहका नेतालाई निर्वाचनको गहिरो समीक्षा हुनुपर्ने धारणा राखेका थिए ।

congress meeting

सभापति शेरबहादुर देउवाले बैठकलाई राष्ट्रियसभाको विषयमा मात्रै केन्द्रित गराउन खोजेका थिए । बैठक शुरु हुनासाथ केन्द्रीय सदस्यहरुलाई तीन अनुच्छेदको मन्तब्य पढेर सुनाएका देउवाले निर्वाचन दलको अनुकूल नभएको प्रष्टाएका थिए । उनको मन्तव्यमा निकट भविष्यमा महासमितिको बैठक डाक्ने उल्लेख छ ।

विधान संशोधनको विषय पनि उनले बैठकमा राखे । सभापतिले बिहीबारको बैठकमा मुख्यत राष्ट्रियसभामा केन्द्रित हुन सदस्यहरुलाई आग्रह गरेका थिए । देउवा पछि बोल्ने अधिकांश सदस्यले नेतृत्वको कार्यशैलीमा प्रश्न उठाए । राष्ट्रियसभामा मात्रै केन्द्रित हुन चाहेका देउवाले कल्याण गुरुङले बोल्दै गर्दा हस्तक्षेप गर्ने प्रयास पनि गरेका थिए ।

सहभागी सदस्यहरुले निर्वाचनको समीक्षाको कुरा पनि उठाउनुपर्ने आवाज बलियो पारेसँगै देउवा पछि हटेका थिए । निर्वाचनको पराजयको सन्दर्भमा नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसी आक्रामक रूपमा प्रस्तुत भएका थिए । विधान विपरित सञ्चालन भएको दलमा सबै भन्दा बढी दोष सभापतिको रहेको केसीले बताए । बैठकमा बोल्ने क्रममा केही सदस्यले पार्टी सभापतिको नाममा छायाँ सभापतिहरुले दल सञ्चालन गरेको भन्दै आपत्ति जनाए । उनीहरुले समानुपातिकतर्फका उम्मेदवार छनौट गर्दा संसदीय समितिमा छलफल पनि नभएको विषय उठाएका थिए ।

वामपन्थीको सरकार बन्न लागेको समयमा नेपाली कांग्रेसले सरकारका विषयमा अल्झिन नहुने अधिकांश वक्ताहरुको धारणा थियो । टिकट वितरणमा गल्ती भएको संसदीय समितिमा रहेका नेताहरुले स्वीकारेका थिए । प्रदेश नम्बर ५ को राजधानी दाङमा हुनुपर्ने अडान राख्दै केन्द्रीय सदस्य दीपक गिरीले बैठकमा आपत्ति जनाउदै बैठक बहिष्कार गरेका थिए ।

राष्ट्रियसभाको लागि बोलाएको बैठकमा अधिकांशले निर्वाचनको परिणामको आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेपछि बैठकको माहोलनै अर्कै बनेको थियो । राष्ट्रियसभा सदस्य उम्मेद्वारहरू विधिसम्मत चयन हुनुपर्ने उनीहरूको माग पनि थियो । कार्य समितिमा भएको निष्कर्ष नेतृत्वले कार्यान्वयन नगरेकोले नेतृत्वको विश्वास गुमेको युवा नेता प्रदीप पौडेलले बताएका थिए । रातोपाटीमा खबर छ ।

बैठकमा धारणा राख्ने क्रममा सभापति देउवाले विधान विपरित गठन गरेका कार्यसम्पादन समिति र संसदीय समिति फेल भईसकेको नेता चन्द्र भण्डारीले राखेका थिए । ‘नीति र प्रणाली नै असफल भइसक्यो’ भण्डारीको भनाइ थियो । बैठकमा राष्ट्रिय सभाका उम्मेदवार विवादरहित उठाउन नेतृत्वलाई सुझाव दिइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय सभाको निर्वाचन पश्चात निर्वाचनको पराजयको समीक्षा बैठक बस्ने बताए ।